काठमाडौं । गत चैत अन्तिम साता सञ्चालन भएको स्नातक तहको चिकित्सा शिक्षाको प्रवेश परीक्षामा १ हजार १ सय विद्यार्थीको उत्तर पुस्तिका रद्द भएको छ ।
परीक्षामा झन्डै ३५ हजार विद्यार्थी सहभागी भएका थिए । तीमध्ये करिब एक हजार एक सय विद्यार्थीको उत्तरपुस्तिका रद्द भएको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ । विद्यार्थीहरुले रद्द हुनुको कारण थाहा हुनुपर्ने माग गरेका छन् ।
लामो समय तयारी गरेर परीक्षा दिएका कतिपय विद्यार्थीले उत्तरपुस्तिका रद्द भएको विषय जानकारी नपाएको भन्दै न्यायका लागि अदालत पुगेका छन् । आयोगले भर्ना प्रक्रिया अघि बढाएपछि विद्यार्थीले भने सडकमा विरोध प्रदर्शनको तयारी गरेका छन् ।
चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव डा. भोजराज काफ्लेले यो पटक धेरै विद्यार्थीको परीक्षा रद्द भएको बताए । उनका अनुसार विद्यार्थीले रोल नम्बर लेख्न नजानेको, गलत लेखेको तथा प्रश्नपत्रको सेट नलेखेका कारण उत्तरपुस्तिका रद्द भएको हो ।
‘यसपटक धेरै विद्यार्थीको परीक्षा रद्द भएको छ, चिकित्सा शिक्षा अध्ययन गर्नेको यति धेरै रद्द हुँदा दुःख लागेको छ,’ काफ्लेले भने, ‘विद्यार्थीको प्रवेशपत्र, निर्देशिका र उत्तरपुस्तिकामा लेखिएका व्यवस्थालाई समेत विद्यार्थीले पालना गरेनन्, मेसिनले उनीहरूको कपी रिड गर्न सकेन ।’
सेट नलेखेको, रोल नम्बर नभएको, गल्ती गरेको विषयमा धेरै छलफल भएको र लोकसेवा आयोगमा समेत यस्ता उत्तरपुस्तिका रद्द हुने भएकाले आयोगले सोही व्यवस्था गरेको उनले बताए ।
विद्यार्थीको त्रुटि आयोगले सच्याउँदा भोलि विद्यार्थीको उत्तरका विषयमा समेत प्रश्न उठ्ने भएपछि आयोगले रद्दको निर्णय गरेको उनको भनाइ छ ।
विद्यार्थीले परीक्षाको नियमअनुसार प्राविधिक प्रक्रिया पूरा नगरेकाले कम्प्युटरले पढ्न नसकेको र विद्यार्थीले प्रक्रिया पूरा नगरेकालाई स्वीकार नगरेको उनले बताए । सदस्य–सचिव काफ्लेले विद्यार्थीले पुस्तक र विषयवस्तु रटान मात्र नगरी विधि र प्रक्रियामा सचेत रहनुपर्ने पक्षलाई ध्यान दिनुपर्ने बताए ।
तर परीक्षा रद्द भएका विद्यार्थी आफूहरूको नतिजा सार्वजनिक हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका छन् । विद्यार्थीहरूले आफ्ना उत्तरपुस्तिका परीक्षण गरी नतिजा निकाल्न माग गर्दै सर्वोच्च पुगेका थिए । अदालतले आयोगलाई समेत छलफलमा बोलाएको थियो । विद्यार्थीहरूले अदालतले प्रमाणसहित बोलाएको, तर आयोगले भर्ना प्रक्रिया सुरु गरेको गुनासो गरेका छन् ।
अदालतमा रिट दायर भए पनि भर्ना प्रक्रिया रोक्न नभनेका कारण काम अघि बढेको आयोगको भनाइ छ । विद्यार्थीले गरेको गल्ती सच्याएर नतिजा निकाल्न सुरु गरेमा फेरि अर्को समस्या आउने आयोगका एक अधिकारीले बताए । सर्वोच्च अदालतमा यो रिट धेरैपटक ‘हेर्न नभ्याइने’ मा परेको छ ।