काठमाडौं - कोरोना संक्रमण भइसकेपछि बिशेष स्वास्थ्य सर्तकता अपनाउनुपर्ने हुन्छ । यो समयमा स्वास्थ्यमा गम्भिर किसीमका लक्षणहरु देखिए अस्पताल भर्ना भई उपचार प्रक्रिया अगाडि बढाउनुपर्छ । संक्रमित कस्तो अवस्थामा अस्पताल भर्ना हुने भन्ने जानकारी तल उल्लेख गरिएको छ ।
अक्सिजन स्याचुरेशन ९३ प्रतिशत भन्दा कम भएमा
कोठामा सामान्य तरिकाले बसिरहेको बेला नै प्ल्स अक्सिमिटरले नाप्दा अक्सिजन ९३ प्रतिशत भन्दा कम आए शरीरमा अक्सिजनको मात्रा कम भएको बुझिन्छ । यस्तो अवस्थामा सकेसम्म अस्पताल भर्ना हुनुपर्छ ।
सास फेर्न गाह्रो भएको छैन तर अक्सिजन घट्न थालेको छ भने अस्पताल जान र अक्सिजन लिन जरुरी हुन्छ । कोरोनाको कुनै लक्षण नै नदेखि अक्सिजन कम भएको अवस्थालाई साइलेन्ट हाइपोक्सिया भनिन्छ । थाहौ नपाई अक्सिजनको कमी हुँदा स्वास्थ्यमा जटिलता आइसकेको हुन्छ । यसको रोकथाम गर्न बेलाबेलामा अक्सिजनको मात्रा नाप्नु पर्छ । बेलामा नै अक्सिजन र अन्य उपचार गरे परिणाम राम्रो हुन्छ ।
स्वास प्रश्वास सम्बन्धि दिर्घकालीन समस्या दम भएको व्यक्तिमा कोरोना संक्रमण हुनु अघि नै अक्सिजनको मात्रा कम हुन्छ । दिर्घ रोगीहरुले स्वास्थ्य व्यक्तिले भन्दा सजिलैसँग अक्सिजनको मात्रा कम खप्न सक्छन् । यस्ता बिरामीको स्वास्थ्य स्थिती अनुसार अक्सिजन ९२ प्रतिशतदेखि ८९ प्रतिशतबाट ओरालो लागेपछि मात्र अस्पताल लैजादा हुन्छ ।
कोठामा सामान्य तरिकाले बस्दा सास बढिरहेको र छिटो छिटो सास फेर्नु परेमा (एक मिनेटमा ३० पटक भन्दा बढि भएमा)
६० बर्ष माथिका व्यक्तिमा संक्रमणको लक्षणले बढि चापेमा अझ छिटो अस्पताल भर्ना हुनुपर्छ ।
संक्रमित व्यक्ति जुनसुकै उमेरको भएपनि मधुमेह, उच्च रक्तचाप, मुटुका अन्य रोग लगायत विभिन्न दिर्घ रोग भएमा वा शरीरको प्रतिरोधात्मक शक्ति कमजोर भएको अवस्था छ भने त्यस्तो अवस्थामा पनि अस्पताल भर्ना हुनु उपयुक्त हुन्छ । साथै क्यान्सरका बिरामीले किमोथेरापी लिइराखेको बेला, अंग प्रत्यारोपण गरिसकेको अवस्थामा पनि अस्पताल भर्ना हुन आवश्यक हुन्छ ।
कुनै पनि अवस्थामा आफ्नो सम्पर्क रहेको चिकित्सकले अस्पताल भर्ना हुने सल्लाह दिएमा पनि भर्ना हुनु पर्छ ।