काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार, औद्योगिक राष्ट्रहरूका ७० देखि ९५ प्रतिशतसम्म बाल-बालिकाको दाँतमा किरा लाग्ने गरेको छ ।
१२ वर्षमुनिका बालबालिकाको दाँत सड्ने समस्या प्रमुख रूपमा देखिएको औंल्याइएको छ । खानपानमा जागरणको अभाव, बालबालिकालाई दुध चुसाउने शैली, दूध पिएपछि मुख सफा नगर्ने बानी, चकलेट आदिले गर्दा यो समस्या बढ्दो छ ।
खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकाकण, मुख्यतः गुलियो र स्टार्चलाई बीस मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तित गर्छ।
ब्याक्टेरियाले उत्पन्न यो अम्लले मुखको र्यालसँग मिलेर प्लाक नामक टाँसिने पदार्थ बनाउँछ । यो दाँतमा टाँसिन्छ ।
यदी धेरै दिनसम्म दाँतको सफाइ हुन सकेन भने प्लाक कडा भएर ‘टार्टर’ बन्छ । टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ । प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाउँछ । यही प्रक्रिया नै दाँतमा किरा लाग्नु हो ।
दाँतमा किरा लाग्ने समस्या विकराल रूपमा देखिनुको कारण मुखको सरसफाइमा कमी, खानाको तरिकामा आएको परिवर्तन, चिउरा, मकै, भटमास, सागसब्जीको सट्टा गुलियो पदार्थको बढी उपयोग गर्नु नै हो ।
बालबालिकामा दाँत सड्ने समस्याको मुख्य कारण पाउरोटी, बिस्कुट आदिको सेवन र अत्यधिक गुलिया खाद्यहरु चक्लेट मिठाइ आदि रहेको छ ।
पाउरोटी, चकलेट लगायत दाँतमा टास्सिने खाद्य पदार्थको बढी प्रयोगले किरा लाग्ने समस्या बढ्दो छ ।