भरतपुर । झन्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ ।
सङ्घले सुरुवात गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।
विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीनवटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । चितवनसहित छ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतिय नागरिकसहित १२ जिल्लाका बासिन्दाले प्रत्यक्षरुपमा सेवा पाएका छन् ।
सङ्घका सभापति एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलले चितवनका सबै पालिका र छिमेकी जिल्लाका सबै पालिकामा सेवा विस्तार अभियान अघि बढाइएको बताए ।
चितवनका कालिका र राप्तीबाहेकका पालिकामा आँखा उपचार सेवा दिँदै आएको छ । ती दुई पालिकामा पनि छिट्टै सेवा सञ्चालनका लागि छलफल भइरहेको उनले जानकारी दिए । ठाउँ उपलब्ध गराई एक जना कर्मचारीको तलब सम्बन्धित पालिकालाई उपलब्ध गराउन अनुरोध गरिएको छ । अन्य व्यवस्थापन सङ्घले गर्ने उनको भनाइ छ ।
अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर डा. सङ्गीता शर्मा भण्डारीले हाल अस्पतालले भरतपुर महानगरपालिका–१० स्थित भरतपुर उकालोमा चिजकुमार विष्णुकुमारी बहिरंग विभाग, पर्साको ठोरी, नवलपरासीको कावासोती र बाराको सिम्रनगढमा सेकेण्डरी अस्पताल सञ्चालनमा ल्याएको बताए ।
त्यस्तै चितवनको चनौली, माडी, कुरिनटार, रत्ननगर, पर्सा, धादिङको बेनीघाट र सल्यानटार, नवलपुरको चोरमारा र होप्सीकोट र सिन्धुलीको दुधौलीमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।
सेकेण्डरी अस्पतालमा सबै सेवा उपलब्ध गराइएको छ भने उपचार केन्द्रमा शल्यक्रियाबाहेकका सेवा दिँदै आएको छ । गएको असार १५ गते यता जेठ १५ गतेसम्म सेकेण्डरी अस्पताल र आँखा उपचार केन्द्रबाट ४५ हजार ३१० जनालाई सेवा दिइसकिएको छ ।
भरतपुर आँखा अस्पताल र चिजकुमार विष्णुकुमारी बहिरङ्ग विभागबाट एक लाख चार हजार ६२४ जनालाई सेवा दिइएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए ।
यसै अवधिमा विभिन्न ठाउँमा गरिएका शिविरमा ५९ हजार १४६ को आँखाको निःशुल्क परीक्षण गरिएको थियो । १११ ठाउँमा एक दिन शिविर र १७ ठाउँमा शल्यक्रियासहितको सर्जिकल शिविर गरिएको उनले बताए ।
एक दिन शिविरमा परीक्षणको क्रममा शल्यक्रिया गर्नुपर्नेलाई भरतपुर आँखा अस्पतालमा ल्याएर गरिएको छ । घिमिरेका अनुसार यस वर्ष शिविरमा चार हजार ३४१ को निःशुल्क शल्यक्रिया गरिएको छ ।