पोखरा । गण्डकी प्रदेशस्तरीय किशोरी सम्मेलनका सहभागीले महिनावारी हुँदा प्रयोग गर्ने प्याड विसर्जनका लागि सबै विद्यालयमा इन्सिनेटरको व्यवस्था गर्न माग गरेका छन्।
सम्मेलनमा जारी ११ बुँदे घोषणापत्रमा महिनावारीलाई प्राकृतिक प्रक्रियाको रुपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अध्याँरो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मिठोमसिनो खान नदिने अनि यसलाई अन्धविश्वासको रुपमा लिने कार्य बन्द गर्न माग गरिएको छ।
सहभागीले महिनावारी हुँदा आराम गर्ने कक्षको व्यवस्था गर्न स्थानीय तह र विद्यालयलाई अनुरोध गरेका थिए।सहभागीले बालविवाह नियन्त्रणमा सरकारी निकायबाट सहयोग नपाएको, सामाजिक हिसाबले दबाब आउने गरेको तथा महिनावारीको समयमा विद्यालयमा उचित वातावरण नहुँदा घरमै बस्न बाध्य भएको, यौन दुर्व्यवहार भएको बताएका थिए।
‘गर्ल्स फस्ट फन्ड’ को आर्थिक सहयोग र धवलागिरि गाउँपालिकाको समन्वयमा संगम म्याग्दीको आयोजनामा म्याग्दी, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, लमजुङका १०० जनाभन्दा बढी किशोरी सहभागी सम्मेलन शनिबार सम्पन्न भएको हो। शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन घोषणपत्र जारी गरिएको जिल्लास्तरीय किशोरी सञ्जालकी अध्यक्ष नरदेवी विकले जानकारी दिइन्।
किशोर अवस्थामा विवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्र विवाह गर्ने, २० वर्षभन्दा कम उमेरमा विवाह हुन लागेको थाहा पाएमा प्रहरीलाई सूचना दिने, जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ। किशोरीमाथि हुने यौनशोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको सुनिश्चितता र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग पनि सो घोषणपत्रमार्फत् गरिएको छ।