एजेन्सी । कहिलेकाहिँ रिस उठ्नु सामान्य हो । भलै, रिसले फाइदाभन्दा हानि नै ज्यादा गर्छ । खासमा रिस उठ्छचाहिँ किन त ? वैज्ञानिकहरुको भनाइमा रिस हाम्रो भावनालाई व्यक्त गर्ने एक माध्यम हो । जतिबेला हामी कुनै समस्यामा पर्छौं या मनमा कुनै डर पस्छ, कुनै चिज गुमाउने डर हुन्छ तर त्यसको सामना गर्ने कुनै उपाय वा आँट हुँदैन, त्यतिबेला हामीलाई रिस उठ्छ।
कुनैबेला हामी कसैलाई आफ्नो कुरा सम्झाउन चाहन्छौँ तर दोस्रो व्यक्ति कुरा सुुन्नुको साटो वादविवाद गर्न थाल्छ । यस्तो अवस्थामा हामी आफ्नो साधारण स्वरुप बिर्सेर ऊप्रति रिस पोख्न थाल्छौँ ।
सादा खाना
शरीरमा कुनै पनि समस्याको सुरुआत खानपानको गडबडीले हुन्छ । ज्यादा मसालेदार खाना शरीरका लागि हानिकारक छ । यसबाट शरीरमा ज्यादा गर्मी पैदा हुन्छ, जसले रिस ज्यादा उठाउँछ । त्यसैले, धेरै रिस उठ्ने मान्छेले सधैँ सादा (तेल, मसला, पिरो कम भएको) खाना खानुपर्छ ।
व्यायाम
घरी–घरी रिसाउने बानीले शरीरमा रिससँग सम्बन्धित रसायनको मात्रा बढ्दै जान्छ । यसलाई निकाल्ने सबैभन्दा राम्रो उपाय व्यायाम हो । त्यसैले, रिस कम गर्न हरेक बिहान व्यायाम गर्नुपर्छ ।
पूरा निद्रा
रिस त्यतिबेला उठ्छ, जतिबेला तनाव बढ्छ । रिसको सिधा सम्बन्ध तनावसँग हुन्छ । तनाव कम गर्ने सबैभन्दा राम्रो उपाय पूरा निद्रा लिनु हो । तनाव घट्दा रिस आफैँ घट्छ ।
आफन्तसँग कुरा गर्ने
यदि ट्राफिक जाम देखेर रिस उठ्छ भने त्यो बेला साथीसँग कुरा गर्दा रिस कम हुन्छ । यस्तो नभए आफूले आफैसँग कुरा गरेर मन शान्त गराउन सकिन्छ ।
मनोचिकित्सकसँग परामर्श
सधैँ रिस उठेको महसुस हुन्छ भने यो एक गम्भीर मानसिक रोग हुन सक्छ । मस्तिष्कमा रसायनको अनुपात वा सन्तुलन बिग्रँदा रिस धेरै उठ्छ । यस्तो अवस्थामा तुरुन्तै मनोचिकित्सकलाई भेट्नुपर्छ । उपचार गराउनुपर्छ ।
नसालु पदार्थ सेवन नगर्ने
नसालु पदार्थले मस्तिष्कलाई उत्तेजित बनाउँछ, र ज्यादा रिस उठाउँछ । त्यसैले, रिस कम गर्न नसालु पदार्थबाट टाढै रहनुपर्छ ।
लामो, गहिरो सास लिने
रिस उठ्नेबित्तिकै लामो सास फेर्नाले रिस कम हुन्छ । यसले मस्तिष्कमा अक्सिजनको मात्रा बढाउँछ र दिमाग शान्त हुन्छ । यसका लागि एकान्त ठाउँको खोजी गर्न सकिन्छ ।
संगीत सुन्ने
रिस उठेका बेला मनपर्ने गीत सुन्दा रिस शान्त हुन्छ । यसलाई म्युजिक थेरापी भनिन्छ ।