बैतडी । बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार गोठलापानीमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
राष्ट्रिय खोप तालिकाअनुसार १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरूले पाउनुपर्ने सबै प्रकारका खोप पाइसकेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
सोही अनुरूप जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको उनले बताए । उक्त उमेर समुहका ४ हजार २ सय ६८ बालबालिका छन्। उनीहरूले पाउनुपर्ने सबै प्रकारका खोप लगाइसकेका हुन्।
०७२ असार ६ गते पहिलोपटक देशकै नवौं पूर्ण खोप जिल्ला घोषणा भएको हो । त्यसपछि प्रत्येक वर्ष खोप सुनिश्चितता घोषणा गरिँदै आएको छ । यहाका स्थानीय तहहरूले खोप सुनिश्चितताका लागि दिगोपना कायमका गर्न स्वास्थ्यका क्षेत्रमा लगानी सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
वडा गाउँ तथा नगरपालिकालाई खोप सुनिश्चितता गर्दै जिल्लालाई नै खोप सुनिश्चित गरिएको हो । स्वास्थ्यको क्षेत्रको अब्बल सूचक मानिँदै आएको पूर्ण खोप सुनिश्चितताले जिल्लाको स्वास्थ्यको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामीले जनाए । प्रत्येक पालिकामा स्वास्थ्य कार्यालय बैतडीले यसअघि घरधुरी सर्वेक्षणसमेत गरेको थियो।
यसैगरी बैतडीमा विद्युत् सबस्टेसन मर्मत कार्यका लागि चार दिन विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ। सबस्टेसनमा नयाँ उपकरण जडानका लागि चार दिन लाग्ने र उक्त अवधिमा विद्युत् अवरुद्ध गरिने भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले जानकारी दिए ।
‘दिउँसोको समयमा उपकरण जडानको काम हुने भएकाले सो समयमा विद्युत् सेवा अवरुद्ध हुनेछ’, भट्टले भने रातीको समयमा भने विद्युत् सेवा अवरुद्ध हुने छैन ।’ सबस्टेसनमा बेलाबेलामा खराबी समेत आउने गर्दथ्यो । सबस्टेसन मर्मत भइसकेपछि उक्त समस्या पनि हल हुने वितरण केन्द्र प्रमुख भट्टले बताए।
यसैगरी जिल्लाको दुई ठाउँमा विद्युत् सबस्टेसनको काम थालिएको छ । मेलौली र पाटनमा सबस्टेसनको काम जारी रहेको वितरण केन्द्रले जनाएको छ। पाटनमा बन्न लागेको सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । जिल्लालाई पूर्णरूपमा विद्युतीकरणका लागि यी सबस्टेसनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।