एजेन्सी । सन् २०४० सम्ममा छालाको क्यान्सरका बिरामीको सङ्ख्या दोब्बर हुने अध्ययनले देखाएको छ।
जामा डर्माटोलोजी म्यागजिनमा प्रकाशित अध्ययनअनुसार मेलानोमा क्यान्सरका कारण विश्वमा थप ६८ प्रतिशत मानिसहरूले यसबाट आफ्नो जीवन बचाउन सक्ने छैनन्। क्यान्सर सम्बन्धी अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय एजेन्सीका अनुसार सन् २०२० मा मेलानोमाका तीन लाख २५ हजार नयाँ बिरामी थपिएका थिए भने ५७ हजारको मृत्यु भएको थियो।
मेलानोमा छालाको क्यान्सरको एक प्रकार हो । हरेक पाँचमध्ये एक छालाको क्यान्सर रोगी मेलानोमा हुन्छन् । विश्वका अधिकांश देशमा ५० वर्षभन्दा कम उमेरका महिला र त्यसपछि पुरुषलाई यो क्यान्सर हुने उच्च जोखिम हुन्छ । सूर्यको हानिकारक युभी किरणका कारण मेलानोमा क्यान्सर हुने गर्छ । मेलानोमा क्यान्सर वंशाणुगत रोग पनि हो, जुन एक पुस्ता देखि अर्कोमा सर्ने गर्छ ।
मेलानोमा हुँदा छालामा कालो दाग देखिन्छन् । बिस्तारै यसको आकार बढ्न थाल्छ । लामो समयसम्म छालाको घाउ निको नहुनु, छालामा भएको कोठी बढ्दै जानु वा कोठीको रङ परिवर्तन हुनु, छाला चिलाउने, चिलाउँदा रगत निस्कनु, छालामा रातो दाग देखिने, छालामा रातो गाँठो देखिनु मेलानोमाका केही लक्षण हुन्। यस्ता लक्षण देखिदा तुरुन्तै चिकित्सकसँग सम्पर्क गरी यो रोगको उपचार गराउनुपर्छ।
समयमा समस्या पत्ता लागेमा यसको उपचार सम्भव छ । तर सामान्य छालाको समस्या सोचेर बेवास्ता गरेमा यसले मानिसको ज्यानसमेत लिन सक्छ । मेलानोमाबाट बच्नका लागि, शरीरलाई सूर्यको प्रत्यक्ष सम्पर्कमा आउन दिनु हुँदैन । यसको लागि सनस्क्रिन प्रयोग गर्नुका साथै, युभी किरणहरू उत्सर्जन गर्ने उपकरणबाट टाढा रहनुपर्छ ।