हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले स्वास्थ्यकर्मीसहित सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्न पोषण कोसेलीसहित भेटघाट कार्यक्रम सुरु गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख मीना लामाले महिला तथा तथा बालबालिकालाई प्राथमिकतामा राखेर उक्त कार्यक्रमको सुरुवात गरेकी हुन्। उपमहानगरप्रमुख लामाका अनुसार गर्भवती महिलाको स्वास्थ्य जाँच तथा आमा र बच्चाको स्वास्थ्य अवस्था पहिचान गर्न नगर क्षेत्रका सम्पूर्ण गर्भवती महिलालाई कम्तीमा एक पटक निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ। भिडियो एक्सरे सेवाबाट हालसम्म ९६ गर्भवतीले सेवा लिएका छन्।
यस्तै, उपमहानगरपालिकाको समेत समन्वय र सहयोगमा हेटौँडा अस्पतालमा सुरु गरिएको मिर्गौला डायलासिस सेवा हेटौँडा अस्पतालमा चालु रहेको बताइएको छ । हाल सो केन्द्रमा आठवटा डायलासिस मेसिन खरिद गरिएको तथ्याङ्कमा उल्लेख छ। प्रमुख लामाले हेटौँडा उपमहानगरले सीमान्तकृत, लोपोन्मुख समुदाय र आर्थिकरुपमा अतिविपन्न १२८ परिवारको स्वास्थ्य बिमासमेत गरिदिएको जनाइन्।
त्यसैगरी, हेटौँडा उपमहानगरपालिकाले आधारभूत तथा आकस्मिक सेवाको सुनिश्चिताको लागि नगरका सम्पूर्ण स्वास्थ्य संस्थामा नेपाल सरकारद्वारा निःशुल्क वितरण गर्ने औषधि सहज र सरलरुपमा उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ । दीर्घ तथा नसर्ने रोगबाट घरमै ओछ्यानमा थलिएर रहेका बिरामी व्यक्तिलाई लक्षित गरी प्रत्येक वडामा रहेका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको परिचालनबाट उपचार र सहयोगको कार्यक्रम सञ्चालन गरिदै आएको जनाइएको छ । जसबाट हालसम्म १६ जना सेवाग्राहीले सेवा पाएका छन्।
महिलामा बढ्दो क्रममा रहेको स्तन तथा पाठेघर क्यान्सरजस्ता घातक रोगको पहिचानका लागि आर्थिक वर्ष २०७८-०७९ मा नगरको तीन स्थानमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको जनाइएको छ। हेटौँडाको हर्नामाडी स्वास्थ्यचौकी, ज्यामिरे सहरी स्वास्थ्य केन्द्र, हटिया सहरी स्वास्थ्य प्रवद्र्घन केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविरमा ३७० महिलाहरुले सेवा लिएका थिए । उपमहानगरपालिकाको वडा नम्बर १, ४, ५, १० मा भवन निर्माण कार्य भइरहेको छ भने वडा नम्बर ९ मा जग्गा प्राप्तिमा ढिलाइको कारण निर्माण कार्य सुरु हुन सकेको छैन ।
स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउन र आधारभूत स्वास्थ्य सेवाको पहुँच अभिवृद्घि गर्न इ–रिपोर्टिङ सिस्टमको विकास गरिएको छ । हाल हटिया स्वास्थ्यचौकी र नागस्वती सहरी स्वास्थ्य केन्द्रमा यस कार्यक्रमको परीक्षण भइरहेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।