काठमाडौं । सांसद बिमला राई पौड्यालले महिलाको विवाह गर्ने उमेर घटाउनु पर्ने भन्ने सांसदहरुको तर्कमा आपत्ती जनाएकी छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले कानुनमन्त्रीले केही समयदेखि सार्वजनिक रुपमा महिलाको विवाह गर्ने उमेर घटाउनुपर्छ भनेर दिँदै आएको अभिव्यक्तिप्रति उनले तीव्र आपत्ती जनाइन्। यदि महिलाको विवाह योग्य उमेर घटाएमा मातृ मृत्युदरमा हालसम्म प्राप्त उपलब्धी गुम्ने छन् ।
मन्त्रीको भनाइ अनुपयुक्त रहेको र यसबारे राष्ट्रिय बहस हुनुपर्छ भन्दै उनले महिलाको स्वास्थ्य र जीवनप्रति खेलबाड गर्ने अधिकार कानुनमन्त्रीलाई नभएको बताइन्।
सन् २००३ मा नेपालमा १ लाख आमामध्ये ४७० जनाको बच्चा जन्माउन नसकेर मृत्यु हुने गरेको उल्लेख गर्दै उनले सन् २०१७ मा यो संख्या घटेर १८६ भएको बताइन्। सन् २००० देखि २०१५ सम्मको सहस्राब्दि विकास लक्ष्यको अवधिमा ५३ प्रतिशतले मातृ मृत्युदर घटेको र यहीकारण नेपालले अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएको उल्लेख गर्दै सांसद पौड्यालले यो उपलब्धीमा विवाह गर्ने उमेर बढाउनु र महिला स्वास्थ्य स्वयंसेविकाको काम प्रमुख कारक रहेको बताइन्।
‘दिगो विकास लक्ष्यअनुसार नेपालले २०३० सम्म मातृ मृत्युदर घटाएर प्रति १ लाखमा ७० जनाभन्दा कममा घटाउने लक्ष्य छ। यसका लागि पनि विवाह गर्ने उमेर बढाउनु आवश्यक छ,’ उनले भनिन्।
पौड्यालले कम उमेरमै विवाह गरेका कारण दक्षिण एसियामा संसारमै मातृ मृत्युदर उच्च रहेको बताइन्। दक्षिण एसियामा २० देखि २४ वर्षका महिलाहरुमध्ये ४५ प्रतिशत महिलाहरुको १८ वर्ष उमेरमा विवाह गर्ने गरेको, प्रत्येक ५ बालिकामध्ये एक बालिकाको १५ वर्षकै उमेरमा विवाह हुने गरेकाले मातृ मृत्युदर उच्च रहेको उनको भनाइ छ।
मातृ मृत्युदर घटाउनकै लागि भारतमा विवाह गर्ने उमेर २१ वर्ष पुर्याइएको र चीनमा पनि २० वर्ष रहेको प्रसंग उल्लेख गर्दै उनले चिकित्साशास्त्रका अनुसार पनि २० देखि ३० वर्षको उमेर बच्चा जन्माउने उपयुक्त उमेर रहेको बताइन्।
तर नेपालका कानुनमन्त्रीले १६ वर्षमा नागरिकता पाएको, १८ वर्षमा भोट हालेकोजस्ता कुरा गरेर विवाह गर्ने उमेर घटाउनुपर्ने हाँस्यास्पद तर्क गरेको बताइन्। ‘वैवाहिक उमेर प्रजनन स्वास्थ्यको कुरा हो, यो कुरा कानुनमन्त्रीले जान्ने हो कि स्वास्थ्य पढेकाले जान्ने होरु’ उनले भनिन्।
महिलाको विवाह गर्ने उमेर घटाउने हो भने शिक्षा, स्वास्थ्य तथा महिला हिंसामा छोरीको हालत के हुन्छ? भन्दै उनले प्रश्न गरिन्।