काठमाडौं । पाठेघरमा मासुको डल्लो आउनु नै फ्याब्रोइड हो । मेडिकल्ली पाठेघरको मासुको भागमा कुनै पनि ठाउँमा डल्लो देखापरेको अवस्था नै फ्याब्रोइड हो । यो समस्या कम्तीमा २५ देखी ४० वर्ष उमेर समूहका महिलाहरुमा धेरै हुने गर्छ ।
फ्याब्रोइड आम समस्याको रुपमा पाइए पनि कतिपय अवस्थामा यसका लक्षण बाहिर देखा नपर्न सक्छन् । अल्ट्रासाउन्ड गरेपश्चात् मात्रै यो रोगबारे जानकारी पाउन सकिन्छ ।मानिसहरू पाठेघरको कुनै पनि ठाउँमा मासु बढ्यो भने कतै क्यान्सर पो हो कि भनेर डराउने गरेका छन् । तर, फ्याब्रोइडका कारण क्यान्सरको सम्भावना हुँदैन ।
लक्षण
फ्याब्रोइड कुन ठाउँमा छ भन्ने कुरामा यसका लक्षण निर्भर हुन्छन् । जस्तै, पाठेघरको भित्री भागमा फ्याब्रोइड भएको छ भने यो सानो हुँदै लक्षणहरू देखापर्न सक्छन् । यदि पाठेघरको बाहिरी भागमा भएको छ भने ठूलै भए पनि लक्षण देखा नपर्न सक्छ ।
फ्याब्रोइड पाठेघरको भित्री भागमा भएको छ भने त्यसका कारणले महिलालाई दुखेको अनुभव हुन जान्छ । भित्री भागमा हुँदा रगत पनि धेरै बग्ने हुन सक्छ । बाहिरी भागमा भएको छ भने ठूलै भए पनि थाहा नहुन सक्छ ।
कतिपयमा यो रोग लागेको कुरा थाहा नै हुँदैन । संयोगवश जब अल्ट्रासाउन्ड गरिन्छ, त्यतिवेला मात्रै यो रोग लागेको थाहा हुन्छ । यसको आकार र ठाउँ हेरेर मात्र लक्षण थाहा हुन्छ ।
फ्याब्रोइड हुँदा सामान्यतया यस्ता लक्षण देखिन सक्छन् :
– पेट दुख्न सक्छ ।
– रक्तस्राव हुन सक्छ ।
– बच्चा नबस्न सक्छ ।
– बच्चा बसे पनि नअडिने हुन सक्छ ।
किन हुन्छ फ्याब्रोइड
यसको कारण यकिन नभए पनि धेरैजसोमा यो वंशानुगत कारणले हुने गर्दछ । परिवारका कुनै पनि अग्रजमा यो रोग लागेको छ भने पछिल्ला पुस्तामा यसले आक्रमण गर्न सक्छ । यो आकस्मिक रूपमा लाग्ने रोग हो, यसको कुनै यकिन गर्न सक्ने अन्य कारण भने छैन ।
यो रोगको विवाहसँग कुनै सम्बन्ध छैन । अर्थात्, यो समस्या विवाहिता तथा अविवाहिता दुवै महिलामा हुने गर्छ । जुनसुकै उमेर समूहका महिलालाई यो रोग लाग्न सक्छ । फ्याब्रोइड अण्डाशयमा हुने रोग होइन । यो नितान्त पाठेघरमा हुने रोग हो । अण्डाशय पाठेघरबाहिरको संरचना हो । त्यसैले फ्यब्रोइटले अण्डाशयमा छुँदैन । यसको संक्रमण नितान्त पाठेघरमा सीमित हुन्छ ।
रोकथामका उपाय
यो रोग प्राकृतिक रूपमै हुने भएकाले यसको रोकथामको खासै कुनै उपाय छैन । यो रोगका लागि मात्रै नभई स्वास्थ्यको हेरचाहका लागि वार्षिक रूपमा एकपटक पाठेघरको नियमित परीक्षण गराउनुपर्छ, जसले गर्दा कुनै पनि रोग विकास हुन लागेको छ भने त्यसबारे सुरुकै अवस्थामा थाहा होस् र उपचार होस् । पाठेघरको परीक्षणविना यो रोगबारे थाहा पाउन सकिँदैन । नियमित परीक्षणबाट समय र पैसाको बचतसँगै दुखाइ र रोगबाट पनि बच्न सकिन्छ ।
उपचार विधि
यसको उपचार विधि आवश्यकताअनुसार निर्धारण गर्न सकिन्छ । यसका कारणले महिलामा गर्भ बस्नमा समस्या आएको छ र यो अलि ठूलै भइसकेको छ भने हामीले यो मात्रै झिक्नुपर्ने हुन्छ । महिलामा यसका कारण बढी मात्रामा रगत बढिरहेको छ, बढी मात्रामा पेट दुखिरहेको छ, महिलाको उमेर ४० वर्ष कटिसकेको छ भने यस्तो अवस्थामा पाठेघर झिक्नुपर्नेसमेत हुन सक्छ ।
पाठेघर नै झिकेर फाल्दा यो रोग निर्मूल पार्न सकिन्छ भने औषधिको मात्रै प्रयोग गर्दा फेरि पनि यो रोग देखापर्न सक्छ । बच्चा जन्मेको छैन र थोरै मात्रामा मात्रै फ्याब्रोइड भएको छ भने सामान्य उपचार गरिन्छ । जस्तै, रगत बढी गइरहेको छ भने त्यसलाई नियन्त्रण गर्ने औषधि दिने गरिन्छ । कुनै पनि महिला ४० वर्ष पनि पुगिसकेको छैन र यो रोगका कारण बच्चा पनि बसेको छैन भने फ्याब्रोइडको मात्रै सर्जरी गरिन्छ । अर्थात्, आवश्यकता र उमेर हेरी यो रोगको उपचार विधि निर्धारण गर्ने गरिन्छ ।
यो रोगले धेरै पीडा हुने अवस्था आएको छैन भने महिनावारी रोकिएपश्चात् यो स्वतः कम हुँदै जाने भएकाले उपचार प्रक्रियामा नजाँदा पनि यसले खासै असर भने पार्दैन । फ्याब्रोइड एकदमै ठूलो भएको वा यसले एकदमै दुःख दिएको छ भने मात्रै पाठेघर झिक्नुपर्ने हुन्छ ।यसले पाठेघरवरपरका अंगहरूलाई थिचेको छ वा पिसाबनलीलाई थिचेको र यसका कारण अन्य समस्या आइरहेका छन् भने मात्रै पाठेघर निकाल्न हाम्रो सल्लाह हुन्छ ।
पाठेघर निकाल्दा महिलाको स्वास्थ्यमा खासै समस्या आउँदैन । महिलामा ४० वर्ष उमेर भएपश्चात् यसै पनि महिनावारी रोकिने नै अवस्था हुन्छ । शल्यक्रियापछि जेजस्ता लक्षण देखापर्छन्, ती महिनावारी सुकेर हुने लक्षण नै हुन् । पाठेघर निकाल्दा बढी मात्रामा जिउ थकितजस्तो हुने, पसिना बढी आउनेजस्ता लक्षण भने देखापर्छन् ।