पुर्ण बहादुर खड्का
अछाम । बयालपाटा अस्पतालको दिगोपनाका लागि पहल गर्न परामर्श समिति गठन गरिने भएको छ। अस्पतालको दिगोपनासँगै सुदुरपश्चिम प्रदेश मातहतमा ल्याउन तथा संस्थागत विकासका लागि परामर्श समिति गठन गरिने भएको हो।
जिल्ला समन्वय समिति अछामको संयोजकत्वमा अछाम स्थित राजनीतिक दल, सेवा क्षेत्र अछाम बाजुरा र डोटीका स्थानीय पालिका प्रमुख तथा न्याय हेल्थ नेपालका पदाधिकारीको सहभागितामा अस्पताल विकास परामर्श समिति गठन गरिने निर्णय भएको बयालपाटा अस्पतालले जनाएको छ।
जिल्ला समन्वय समिति अछामको आयोजनामा भएको बैठकले बयालपाटा अस्पताललाई अपुग बजेटको व्यवस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकार तथा सेवा क्षेत्र अछाम, बाजुरा र डोटीका पालिकाहरुसँग बजेट माग गर्ने समेत निर्णय भएको छ।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरको अध्यक्षतामा भएको बैठकमा सहभागी सुदूरपश्चिम प्रदेशका सांसद हर्क बहादुर कुँवर र भरत खड्काले अस्पतालको दिगोपनाका लागि प्रदेश सरकारलाई थप बजेट व्यवस्था गर्न आग्रह गर्ने बताएका छन्।
अस्पतालले दुर्गम क्षेत्रका जनतालाई निशुल्क गुणस्तरीय सेवा प्रदान गरिरहेकोमा प्रशंसा गर्दे उनीहरुले अस्पताल दीर्घकालिन रुपमा चल्न सबै क्षेत्रबाट सहयोग हुनुपर्ने र आफूहरु समेत यसमा चिन्तित रहेको बताए।
प्रदेश सरकारले आफ्नो मातहतमा अस्पताललाई संचालन गर्नुपर्ने र बजेटको नियमित व्यवस्थापन गर्नुपर्ने स्थानीय राजनीतिक दलका प्रतिनिधिको भनाई थियो। यसअघि पनि पटक पटक बैठक गरेर प्रदेश सरकारलाई घच्घच्याउँदा पनि प्रदेश सरकारले यस विषयमा गम्भिर नभएको उनीहरुको आरोप थियो।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी लगायतका सरोकारवालाको सहभागिता रहेको बैठकले अस्पताल विकास परामर्श समितिको गठन गर्न असार २० गते पुन बैठक बोलाएको छ।