काठमाडौं । काठमाडौंमा पछिल्लो समय हैजाको संक्रमण बढेको छ । हालसम्म उपत्यकामा १२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ ।
बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट, नैकाप र बुढानिलकण्ठमा हैजा देखिएको इपिडिमियोलोजी तथा रोग महाशाखाले जनाएको छ । उपत्यकामा हैजा देखिनुको प्रमुख कारण प्रदुषित खानेपानी भएको बताइएको छ । महाशाखाका निर्देशक दासले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताए । काठमाडौंमा प्रदुषित खानेपानीका कारण हैजाको संक्रमण बढेको छ । बुढानीलकण्ठ नगरपालिकाले गरेको नमुना परीक्षणका क्रममा ७२ प्रतिशत पानी प्रदूषित देखिएको थियो ।
हैजाको उपचारका लागि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पताललाई हब अस्पताल तोकेको छ । हाल हैजाका बिरामीको निजी क्षेत्रको बयोधा अस्पताल र स्टार अस्पतालले पनि उपचार गरिरहेका छन्।
हैजा संक्रमितको संख्या १२ बाट बढ्न सक्ने सम्भावना उतिकै छ । यता,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारी काठमाडौं उपत्यकामा हैजा जस्तो संक्रमण देखिनु दुर्भाग्य रहेको बताउँछन् । काठमाडौं जस्तो सरसफाइको हिसाबले, चेतनाको हिसाबले,पानीको शुद्धता राम्रो, सबै राम्रो भएको ठाउँमा हैजा देखिन नहुँने उनको भनाई छ । काठमाडौंको बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट नैकप लगायतका ठाउँहरुमा हैजा देखिनुले धेरै प्रश्नहरु उठाएको उनी बताउँछन् । हैजा फैलन् नदिँन बिभिन्न निकायहरुसँग समन्वय गरी काम गरिरहेको उनको भनाई छ ।
बिशेषगरी हैजा भनेको के हो ? कसरी सर्छ ? संक्रमण भएका व्यक्तिहरु कसरी पहिचान गर्ने ? उपचार व्यवस्था कसरी गर्ने कुरामा मन्त्रालयले काम गरिरहेको अधिकारी बताउँछन् । त्यसो त बर्षायामको पानी र अन्य समयमा खानेपानीमा हामीले ध्यान दिर्नुपर्ने उनको भनाई छ । बर्षायाममा खानेपानीका मुहानहरु प्राय गरी दुषित नै हुने हुँदा शुद्धिकरणका उपाय अपनाउन उनको अनुरोध छ ।