जाजरकोट- अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जाजरकोट जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन। दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो। खरिद गरेको समयदेखि अहिलेसम्म बन्द कोठामा राख्नेबाहेक अरु काम नभएको स्वास्थ्य सेवा कार्यालयका कर्मचारी बताउँछन्।
प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा सामग्री भएर पनि प्रयोगमा आउन नसक्नु दुःखद भएको चिकित्सक बताउँछन्।
असामान्य खालका बिरामीलाई उपचार गर्न प्रयोग हुने भेन्टिलेटर सेवा जाजरकोट अस्पतालमा ल्याएदेखि प्रयोगमा आउन नसक्नु दुःखद् भएको जुनिचाँदेका रेशमबहादुर खड्काले बताए।
नयाँ भवन निर्माण हुँदै गरेको र राख्ने ठाउँको अभावकै कारण सञ्चालनमा ल्याउन नसकेको स्वास्थ्य सेवा कार्यालयका टिकाराम जैशीले बताउनुभयो। ुप्रदेश सरकारले हामीलाई कर्मचारी पठाउँछौँ भनेर जानकारी आएको छ, सायद छिट्टै हुन्छ होलाु, उनले भने।
त्यस्तै एचडीयू सेवाका लागि जिल्ला अस्पतालमा आएको सामग्री ठाउँ अभावका कारण जोड्न नसकिएको उनले बताए। पच्चीसमध्ये अहिलेसम्म १५ वटा मात्र जोडिएको जैशीको भनाइ छ। जिल्ला अस्पतालमा २५ वटा अक्सिजन सिलिण्डर भए पनि अघिल्लो वर्ष खरिद गर्नुपर्ने अक्सिजन प्लान्ट अहिलेको आर्थिक वर्षको अन्तिममा आएर काम शुरु गर्दा बिरामीले सुविधा पाउन मुस्किल भएको छ।
पलान्ट खरिद गर्नका लागि सम्झौता मात्र भएको तर कहिले जिल्ला अस्पतालमा पुग्ने हो, त्यसको कुनै समय नभएको अस्पताल प्रशासनले बताएको छ।
कोरोना महामारीको समयमा २०० भन्दा बढी बिरामी भए पनि ठाउँ अभावका कारण अस्पतालमा उपचार हुनसकेको छैन। जिल्ला अस्पतालमा १० चिकित्सक भए पनि सामग्री खरिदका लागि नेतृत्वले इच्छाशक्ति नदेखाउँदा हैरान भएको स्वास्थ्यकर्मी बताउँछन्।
कोरोना सङ्क्रमितलाई राख्नका लागि प्रत्येक पालिकाले कम्तीमा १० देखि १५ शय्यासम्मको क्वारेन्टिन बनाउने निर्णय भए पनि स्थानीय तहले त्यसको कार्यान्वयन गरेका छैनन्। भारत वा अन्य मुलुकबाट आएका सर्वसाधारण सिधै घर जाने गरेका छन्। भेरी नगरपालिका(२ मा भारतबाट आएका सर्वसाधारण बिरामी हुँदा व्यवस्थापनमा समस्या आएको छ।