काठमाडौं । काठमाडौं उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयूकेएल र ट्याङ्करको पानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ ।स्वास्थ्य कार्यालय काठमाण्डौले बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत ठाउँका पानीको नमुना परीक्षण गरेको थियो ।
परीक्षणमा खानेपानी सिधै पिउनयोग्य नरहेको भेटिएको हो । पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयूकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ ।
नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले आज पनि अनुगमन गर्दैछ । विशेषगरी जारको पानीलाई लक्षित गरी अनुगमन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्ड अनुसार जारको पानी वितरण भए नभएको समेत अनुगमन गरिने वाणिज्य विभागका निर्देशक हरि पङ्गेनीले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यका अनुसार अनुगमनका क्रममा पानीको जार पुनः प्रयोग हुँदा राम्ररी सफा नगरिएका कारण जीवाणु भएको अनुमान गरिएको छ । कतिपयले खोलाको पानी भरेर सिधै वितरण गर्न ल्याएको पनि भेटिएको उनले बताए।
पिउन अयोग्य पानी बिक्री गरिरहेको पाइएकाले यस्ता व्यवसायीलाई कारबाही गर्ने पनि उनले बताए । स्वास्थ्य विज्ञले यस अघि नै काठमाण्डौमा भित्रभित्रै हैजा फैलिएको हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए ।
काठमाण्डौमा गएको २ गते पहिलो पटक बागबजारका दुई दिदीबहिनीमा हैजा पुष्टि भएको थियो । त्यसपछि अहिलेसम्म उपत्यकामा १४ जनालाई हैजा पुष्टि भइसकेको छ । बेलैमा सावधानी नअपनाए अवस्था भयावह बन्ने विज्ञले चेतावनी दिएका छन् ।
केयूकेयल र ट्याङ्करले वितरण गर्ने पानीमै हैजाको जीवाणु भेटिएपछि जोखिम र चुनौती झन् बढेको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् । । उपत्यकामा हैजा फैलने जोखिम उच्च रहेकाले यसको रोकथामका लागि पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पिउन तथा स्वथ्य खानेकुरा मात्रै खान डाक्टरको सुझाव छ । उनले जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन आग्रह गरेका छन् ।