हैजा कोलेरा नामक ब्याक्टेरियाको कारण लाग्ने रोग हो। विशेषगरी यो जीवाणु फोहोर पानीबाट मानिसमा सर्छ। हैजा लागेका अधिकांश मानिसमा ठूलो लक्षण देखिँदैन।
यद्यपि केही मानिसमा गम्भीर किसिमको पखाला, बान्ता र पानीको मात्रामा कम हुने समस्या देखिन्छ। हैजाको उपचार बेलैमा हुन नसकेमा बिरामीको मृत्यु पनि हुन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हैजाको कारण विश्वभर २१ हजारदेखि १ लाख ४३ हजारसम्म मानिसहरुको मृत्यु हुने गरेको छ।
हैजाका लक्षणहरु
-पखाला लाग्ने
-वाकवाकी लाग्ने
-बान्ता हुने
-शरीरमा पानीको मात्रा कम हुने
-थकाइ लाग्ने
-आँखा रातो हुनु
-मुख सुख्खा हुनु
-अत्यधिक तिर्खा लाग्नु
-पिसाब कम लाग्नु
-मुटुको गति असामान्य हुनु
-रक्तचाप कम हुनु
के कारणले लाग्नसक्छ हैजा ?
विशेषगरी फोहोर पानीकै कारण हैजा संक्रमण हुन्छ। यो अधिकांश मानिसमा हैजा संक्रमण हुने कारण हो।
त्यसैले हैजा संक्रमण सफा पानी र सरसफाइको अभाव भएको स्थानमा फैलिन्छ। त्यस्तै राम्रोसँग नपाकेको खानेकुरा, काँचै खाने फलफूल र तरकारी राम्रोसँग नपकाई खाँदा सर्न सक्छ।
बिरामीसँगको सामान्य सम्पर्कबाट यो रोग सर्दैन।
कसरी बच्ने ?
-बेलाबेलामा हात धुने
-खाना बनाउन, दाँत माझ्न वा पिउनको लागि उमालेको पानी प्रयोग गर्ने
-उमाल्न सम्भव नभए पानी शुद्धीकरण गर्ने रसायन पनि प्रयोग गर्न सकिन्छ तर, पानी शुद्ध बनाउने सबैभन्दा उत्तम उपाय उमाल्नु नै हो।
-काँचो खानेकुरा नखाने
-घरमा नै उमारेको तरकारी वा फलफूल मात्र खाने बानी विकास गर्ने