पूर्ण बहादुर खड्का
अछाम । बयालपाटा अस्पतालका समस्या समाधान गर्ने पहलका लागि अस्पताल सरोकार समिति गठन गरिएको छ। अस्पतालमा देखा परेका आर्थिक समस्या लगायतका अन्य विषयमा स्थानिय, प्रदेश र केन्द्र सरकारलाई दबाब दिन सरोकार समिती गठन गरिएको हो।
जिल्लाको साँफेबगर नगरपालिका वडा नं ७ मा रहेको अस्पतालका लागि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुवँर संयोजक रहने गरी बयालपाटा अस्पताल सरोकार समिति गठन गरिएको हो।
समितिमा अछामका १० वटै पालिका प्रमुख, बाजुरा र डोटीको सेवा क्षेत्र भित्रका पालिका प्रमुख, अछामस्थित राजनीतिक दलका प्रमुख प्रतिनिधि, वडा नं ७ का अध्यक्ष, समाजसेवी, नागरिक र अस्पतालको तर्फबाट समेत सदस्य रहने गरी समिति गठन गरिएको हो।
समितिले बयालपाटा अस्पताललाई सुदुरपश्चिम प्रदेश सरकार मातहत राख्न प्रदेश सरकारसँग सम्झौता गर्ने र बयालापाटा अस्पताल संचालनका लागि अपुग बजेटको माग गर्न पहल गर्ने उद्देश्यले अस्पताल सरोकार समिति गठन गरिएको अस्पतालले जनाएको छ।
समितिले केन्द्र, प्रदेश र स्थानीय पालिकासँग समेत बयालपाटा असपतालको दीर्घकालिनका विकासका गर्न बजेटका लागि पहल गर्ने समितिका संयोजक नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले बताए।
पछिल्लो केही वर्ष यता विदेशी दातृ निकायबाट अस्पतालका लागि बजेट कम हुदैँ गएको अवस्थामा अब स्थानीय र प्रदेश सरकारले नै अस्पतालको दीर्घकालिन संचालनका लागि अपनत्व लिुनपर्ने र त्यसका लागि स्थानीय स्तरबाटै पहल गर्न समिति गठन गरिएको नगर प्रमुख कुवँरले बताए।