झापा । जिल्लामा चालू आर्थिक वर्षको आखिरी महिना असारसम्ममा ६८४ जना महिलाले स्थायी बन्ध्याकरण (मिनिल्याप) सेवा लिएका छन् । सो अवधिमा मात्र नौजना पुरुषले स्थायी बन्ध्याकरण (भ्याक्सेक्टोमी) सेवा लिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। महिलाको तुलनामा परिवार नियोजन अन्तरगत स्थायी बन्ध्याकरण सेवा लिने पुरुषको सङ्ख्या अत्यन्त न्यून हो।
स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईका अनुसार यो वर्ष हालसम्म ६९३ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका छन् । पुरुषहरुले बन्ध्याकरण सेवा लिन नचाहानुको स्पष्ट कारण नखुलेपनि अन्धविश्वास र भ्रम भएको बुझिएको छ। स्थायी बन्ध्याकरण गर्दा कमजोर भइने भ्रम पुरुषमा रहेको बताइएको छ।
पुरुषले धार्मिक अन्धविश्वासका कारण पनि महिलालाई नै स्थायी बन्ध्याकरण गर्न लगाउने गरेको जानकारहरु बताउँछन् । भ्याक्सेक्टोमी गरेपछि संभोगका बेला कम आनन्द आउँछ भन्ने सोचले पनि पुरुषले स्थायी बन्ध्याकरण गर्न चाहदैनन् ।
सम्बन्धित स्वास्थ्यकर्मीका अनुसार यो गलत सोछ हो। भ्याक्सेक्टोमी पछि गरिने संभोगमा आनन्दको दृष्टिले कुनै कमी हुँदैन । संभोग क्रिया सुरक्षित हुन भएकाले बढी नै फलदायी हुने चिकित्सकहरुको मत छ। स्थायी बन्ध्याकरण गराउने महिला ग्रामीण क्षेत्रका भएको अधिकृत भट्टराईले बताए । स्थायी बन्ध्याकरण गर्ने अधिकांश महिला ग्रामीण क्षेत्रका महिला छन् ।
सहरी क्षेत्रका महिलाभन्दा पुरुषले स्थायी बन्ध्याकरण गराउने गरेका छन् भट्टराईले भने, शहरी क्षेत्रका पुरुषले लुकिछिपी बन्ध्याकरण गराउँछन् । स्थायी बन्ध्याकारणका लागि यो वर्ष जिल्लाका नौ स्थानमा मोबाइल क्याम्प सञ्चालन गरिएको थियोे । झापामा प्रसूतिपछिको स्थायी बन्ध्याकरण सेवा समेत उपलब्ध छ । थप बच्चा जन्माउन नचाहनेलाई प्रसूतिकै समयमा स्थायी बध्याकरणको सेवा दिइने गरेको अधिकृत भट्टराई बताए।
झापामा दमकका आम्दा अस्पताल, लाइफ लाइन, ओम मेची इन्टनेशनल, बिर्तामोडको बीएण्डसी अस्पताल, भद्रपुरको ओमसाई पाथीभरा लगायतका अस्पतालले प्रसूतिपछिको बन्ध्याकरण सेवा दिने गरेका छन्।प्रसूतिपछिको बन्ध्याकरण सेवा उपलब्ध गराएबापत सरकारले ती अस्पताललाई स्वास्थ्य तथ्याङ्कको आधारमा रकम उपलब्ध गराउने गरेको अधिकृत भट्टराईले जानकारी दिए।
बन्ध्याकरण सेवा लिने सेवाग्राहीलाई जनही २५० रुपैयाँ खाजा खर्च, सामान्य औषधी र भिटामिन दिने गरिएको छ । घरबाट अस्पताल आएर सेवा लिए सो सेवा लिनेलाई त्यस्तो करम घरमै पुर्याउने व्यवस्था स्वास्थ्य कार्यालयले आफैँले गर्ने गरेको छ । लक्ष्य अनुसार काम नहुँदा चालु आर्थिक वर्षमा झापामा परिवार नियोजन सेवा अन्तरगत आएको मध्ये ७ लाख रुपैयाँ फ्रिज हुने भएको छ। सो सेवाका लागि यो वर्ष जिल्लामा ३४ लाख ४० रुपैयाँ आएको थियोे।