‘आलु खाएर पेडाको धाक’ उखान नेपाली जनजिब्रोमा धेरै पहिलेदेखि नै जरा गाडेर बसेको छ । यो उखानले आलुभन्दा पेडा खानु राम्रो भन्ने आशय जगाउँछ । तर वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने वास्तविकताचाहिं योभन्दा ठीक उल्टो छ ।
आलु निकै पौष्टिक पदार्थ हो जबकि पेडा चिनीले बनाएको एकछिन खाँदा स्वाद लाग्ने तर दाँत र पेट बिगार्ने वस्तु हो ।
हामी कहाँ बिहान बेलुका भात खाएझैं कति युरोपली मुलुकमा आलु प्रयोग गरिन्छ । बच्चालाई उसिनेर, भुटेर, आलुलाई पिसेर हाम्रो भाषामा हलुवा बनाएर दिइन्छ । आलुमा शक्ति दिने तत्वका साथै केही मात्रामा म्याग्नेसियम लौह तत्व, रेशादार पदार्थ पनि हुन्छ ।
त्यसैले आलुको विषयमा अब घोत्लिएर सोच्ने बेला आएको छ । योचाहिं हाम्रो शरीरलाई शक्ति दिने तत्व भएको राम्रो भोजन हो भन्ने विचारले आलुलाई प्रयोग गर्ने कि ?अब त पेंडा खाएर आलुको धाक भन्ने भनाइ अघि बढाउने हो भने आलुको महत्व जनमानसमा अझ घुस्थ्यो कि?जात फाल्नु गहतको झोलमा’– हाम्रो समाजमा प्रचलित उखान हो । योे उखानले गहतचाहिं केही काम नलाग्ने खानेकुरा रहेछ भन्ने ज्ञान दिएजस्तै लाग्छ । तर गहत चाहिं प्रोटिन र सूक्ष्म पोषक तत्वले भरिपूर्ण खाद्य पदार्थ हो ।
सुदूरपश्चिममा चाहिं गहत खानामा धेरै प्रयोग हुन्छ । गहतानी भन्ने स्वादिष्ट भोजन गहत र मासबाट बन्छ र भातसँग खाँदा बडो मीठो हन्छ । मेरी हजुरआमाले र मेरी आमाले बनाउने गहतानीको अगाडि अन्य पकवान फिका लाग्छ । जाडोको बेलामा बटुको हालेर पकाएको पीरोपीरो गहतानीले त शरीरमा तातोसमेत गराउँछ भन्ने अनुभव त अझै मलाई ताजै झैं लाग्छ।
फर्सीको महत्व बुझ्ने कि ?
‘कस्तो फर्सी जस्तो भ्यात्त परेको नमीठो तरकारी’ भन्छांै हामी प्याच्च । कतिजनाले त फर्सीसँग पनि कसरी भात खाने, केही मोठो नै हुँदैन भनेका पनि सुनेकी छु । तर यदि फर्सीको पौष्टिकताबारे थाहा पाउने हो भने यस्तो विचार बदलेर हामीले ‘वाह कस्तो फर्सी जस्तो पौष्टिक !’ भन्थ्यौं होला ।
फर्सीको प्रयोगले आँखा बलियो बनाउँछ भन्ने कुरा सबैलाई थाहा भए पनि तराईतिर धेरै बालबालिकालाई फर्सीको परिकार धेरै ख्वाइँदैन तर आँखाको समस्याबाट बच्न भिटामिन ‘ए’ चाहिँ दिइन्छ । तर घरका छानामा राखेका फर्सी बालबालिकालाई खान देऊ, यसले आँखालाई शक्ति दिन्छ र बालबालिकाहरूलाई स्वस्थ र सबल बनाउँछ भनेर न कसैले भन्छ नै । न त त्यसबारे स्वास्थ्य केन्द्र, आमा समूह वा स्थानीय तहमा नै जनप्रतिनिधिहरूसंग छलफल नै हुन्छ ।
फर्सी वास्तवमा शरीरका लागि आवश्यक पौष्टिकताले भरिपूर्ण हुन्छ । यसमा भएको सूक्ष्म पोषक तत्वबारे धेरै अध्ययन-अनुसन्धान भएका छन् । अष्ट्रेलियामा फर्सीको सुप धेरै प्रयोग गरिन्छ । नेपालमा चाहिं फर्सीको पनि सुप हुन्छ र भनेर नाक खुम्च्याउने र हेप्ने चलन छ ।तर अब फर्सीलाई हेर्ने दृष्टिकोण बदलेर भिटामिनका चक्की, भिटामिन ए क्याप्सुल होइन कि फर्सीको सुप, फर्सीको तरकारी खाने गरे फाइदा हुन्छ भनेर छलफल चलाउने, प्रचार गर्ने बेला भएन र ?