सामान्यत बच्चाको स्वभाव चञ्चल हुन्छ । उनीहरु नयाँ कुरा, नयाँ परिवेश, नयाँ साथीहरुसँग रमाउँछन् । अरुसँग घुलमिल हुन्छन् ।
तर, कति बच्चाको स्वभाव एकदम विपरित हुन्छ । उनीहरु नयाँ साथीहरुसँग घुलमिल गर्दैनन् । नयाँ साथी मात्र होइन, आफ्ना सहपाठी वा नजिकका साथीसँग पनि घुलमिल हुँदैनन् । नयाँ व्यक्तिसँग बोल्न हच्किन्छन् । कक्षा कोठामा कुनैपनि प्रश्नको उत्तर दिन अग्रसर हुँदैनन् । सजिलो प्रश्नको उत्तर दिनका लागि पनि हात उठाउँदैनन् । यी बच्चाहरु किन आत्मग्लानिले थिचिएका छन् ? किन हिनभावले गलेका छन् ?
वास्वतमा यो एक समस्या हो । मानसिक समस्या । र, यसको नतिजा बच्चाको दीर्घ-जीवनमा रहिरन्छ । अर्थात उनीहरुको उमेर बढ्दै गएपनि, त्यो समस्याले घेरा हालिरहन्छ । जब बच्चाको आत्मविश्वास हराउँछ । उनीहरु मानसिक रुपले कमजोर हुन्छ । तब उनीहरु जीवनमा कुनै चुनौती सामना गर्न नसक्ने अवस्थामा पुग्छन् । हामीले आफ्नो भविष्य सम्झेर हुर्काइरहेका बच्चाहरु यति निरिह, यति कमजोर भएपछि भोलिको अवस्था के होला ?
त्यसैले बच्चामा उल्लेखित लक्षण देखिएमा त्यसलाई नजरअन्दाज नगरौं । यसको पहिचान गरेर निदान खोज्नतर्फ लागौं ।
यो समस्यालाई चिकित्सकले ‘एस्पर्गर सिन्ड्रोम’ भनी पहिचान गरेका छन् ।
आफ्नो बच्चा एस्पर्गर सिन्ड्रोमको शिकार भइरहेका भनेर कसरी पहिचान गर्ने ? त्यसको निदान के हुनसक्छ ?
कसरी थाहा पाउने ?
– आँखा जुधाएर कुरा गर्न सक्दैनन् । बोल्दा बोली रोकिन्छ ।
– कुरा गरिरहँदा केही बिर्सिएजस्तो वा असहज भएजस्तो मान्छ ।
– सामान्य कुरामा पनि उग्र हुन्छन् ।
– सामान्य गतिविधिमा खास प्रतिक्रिया नदेखाउनु । जस्तो हास्ने कुरामा पनि नहाँस्नु । दुखी हुने कुरामा पनि उति ख्याल नगर्नु ।
– खानपानमा खास रुची नदेखाउनु ।
यस किसिमको रोगले ग्रस्त बच्चा दुई किसिमको कुरा पटक पटक देख्ने गर्छन् । पहिलो, उनीहरु आफुलाई अरुभन्दा स्मार्ट ठान्छन् । यद्यपी कुनै समस्यामा घेरिएको ठान्छन् ।
दोस्रो, उनीहरु एउटै विषयमा केन्दि्रत भएर कुरा गर्न चाहन्छन् । तर, ध्यान केन्दि्रत हुँदैन । २०१३ मा गरिएको एक अध्ययनपछि चिकित्सकले यसलाई अटिज्म स्प्रेक्ट्रम डिसअर्डर अर्थात एएसडीको हिस्सा मानेको थियो ।
बच्चाको समस्या
यो समस्या धेरैजसो बच्चाको हकमा हुनेगर्छ । यो समस्याको निदान चिकित्सकमार्फत पनि खोज्नुपर्ने अवस्था आउनसक्छ । खासगरी मानसिक रोग विशेषज्ञ वा न्यूरोलोजिस्टले यसको निदान गर्न सक्छन् । उनीहरुले बच्चाको व्यवहार, गतिविधि आदिलाई हेरेर उपचार विधी तय गर्छन् ।
केही थेरापी पनि उपयोगी
थेरापीको माध्यामबाट पनि बच्चाको दिमागको विकास गर्न सकिन्छ । यसका लागि सोशल स्किल ट्रेनिङ, स्पीच ल्याङ्वेज थेरापी, प्यारेन्ट एजुकेसन एन्ड ट्रेनिङ आदि दिन सकिन्छ ।