काठमाडौं । बर्खायामसँगै नेपालमा पनि नाइरोबी फ्लाइ किरोको संक्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको किरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् । खासगरी वर्षायाममा देखिने उक्त किरा अहिले देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको किरा देखिएको जानकारी महाशाखाको किटजन्य शाखा प्रमुख डा। गोकर्ण दाहालले दिए । काठमाडौँको सिभिल अस्पतालमा उक्त किराका कारण संक्रमित भएका दुई जनाको उपचार गरिएको छ ।
उनका अनुसार गत वर्ष पनि नाइरोबी फ्लाइका कारण संक्रमण भएका तीनरचार जना बिरामी भेटिएका थिए । ‘अहिले पनि नाइरोबी फ्लाई किरा देखिन थालेको छ । किरा बाहिरी मुलुकबाट नआइ यहीँ उत्पादन हुने गर्छ”, उनले भने, ‘किराले लामखुट्टे जस्तो संक्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सार्दैन । जनस्वास्थ्यमा ठूलोरुपमा यो किराले संक्रमण ल्याउँदैन ।’
मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई त्यसबाट एक प्रकारको रस निस्कन्छ । उक्त रसमा रहेको पेडेरिन तत्वले छालामा संक्रमण गराउँछ । किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने संक्रमण नहुने उनी बताउँछन् ।
‘किरालाई सजिलैसँग शरीरबाट फाल्न सकियो भने संक्रमण हुँदैन’, डा. दाहालले भने, ‘किरा नरम भएकाले शरीरबाट फाल्दा थिचिने गर्छ र यसरी थिचिँदा किराबाट एसिड निस्कन्छ । जुन एसिडले शरीरलाई हानि गर्छ ।’
एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिमिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने जानकारी डा. दाहालले दिए । ‘लक्षण देखिएपछि धेरै मानिस आफैं सञ्चो भएर जान्छन्’, उनले भने, ‘सञ्चो नभए नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्छ ।’
प्रायःजसो सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा उक्त किरा देखिने र प्रजनन गराउने गर्छ । किराबाट हुने संक्रमणबाट पेडेरस डर्माटिटिइजजस्तो रोग लाग्ने गरेको उनले बताए । किराको संक्रमणबाट देखिने रोगबारे छाला रोगका विशेषज्ञ र किरा विज्ञसँग छलफल गर्ने तयारी भइरहेको जानकारी पनि डा. दाहालले दिए ।