अर्थाेडोटिन्स दन्त उपचारको क्षेत्रमा सबैभन्दा पुरानो विधा हो । यद्यपि नेपालमा यसको अवधारणाको सुरुवात भएको भने झन्डै एक दशक मात्रै भएको छ । यसअन्तर्गत नमिलेको दाँत तथा अनुहारको हड्डीहरु लाई मिलाउने तथा अध्ययन गरिन्छ । यस अन्तर्गत समस्याको सुरुवात तथा आगामी दिनमा त्यसले लिनसक्ने रुपबारे तथा त्यसको दीर्घकालीन निराकरण कसरी गर्न सकिन्छ भनी अध्ययन गरिन्छ ।
यस विधाको अध्ययन गर्नका लागि बिडिएस पश्चात् ३ वर्ष लाग्छ । पछिल्लो समयमा उपत्यकामा मात्रै नभई उपत्यका बाहिर पनि यस प्रविधिद्वारा गरिने उपचारमा सर्वसाधारणको आकर्षण बढेको पाइएको छ । मेरो अनुभवमा पछिल्लो समय अर्थाेडोन्टिक्स प्रविधिबारेको चेतना एकदमै बढिरहेको छ ।
दाँतको बीचमा खाली ठाउँ हुनु, माथिको दाँत भित्र जाने ,हड्डीभित्रै रहने, अनुहारको हड्डी बढ्ने तथा अनुपात नमिलेर सुन्दर नदेखिनेजस्ता समस्याको समाधान यस उपचार पद्धतिमा गरिन्छ । कुन अवस्थाको दाँतलाई नमिलेको मान्ने भनी जनचेतनाको अभावमा पहिलाका मानिसहरुमा थियो ।
सञ्चार माध्यममा यस प्रविधिबारे गरिएको व्यापक प्रचार प्रसारले पनि यस प्रविधिबारेको जनचेतना बढिरहेको छ । अर्थाेडोन्टिक प्रविधिमा हुने उपचारको प्रकार अर्थाेडोन्टिक प्रविधिद्वारा प्रिभेन्टिभ, इन्टरसेभटिप, र करेपटिभ तरिका गरी तीन किसिमबाट उपचार गरिन्छ । प्रिभेन्टिभ तरिका भन्नाले रोग सुरु नै नभएको अवस्थाको उपचार विधि हो ।
यस अवस्थामा दाँतहरु नबिग्रिएकै अवस्था तथा बच्चाहरुको दाँत उम्रिन सुरु भएदेखि नै परामर्श दिने गरिन्छ । करेपटिभ उपचार विधि दाँतहरु बिग्रिसकेपछि तथा अनुहारका हड्डीहरु बिग्रिसकेको अवस्थामा प्रयोग गरिन्छ । यस्ता उपचारमा प्रयोग हुने प्रविधिहरु महँगो भएकोले उपचार विधि केही महँगो भने छ । अन्य अस्पतालहरुको तुलनामा ओम समाज डेन्टल अस्पतालले यस प्रविधिद्वारा सस्तोमा सेवा उपलब्ध गराइराखेको छ ।
अर्थोडोन्टिक समस्याका कारण
अधिकांशमा वंशाणुगत गुणका कारण दाँत बांगोटिंगो हुने गर्छ । त्यस्तै, गर्भावस्थामा कुपोषण, सरुवा रोग, हार्मोनल असन्तुलन, दुर्घटना आदि हुँदा पनि बच्चामा जन्मजात अर्थोडोन्टिकको समस्या हुन सक्छ ।
बच्चाहरूमा औंला चुसिरहने बानी, जिब्रो बाहिर भित्र ल्याउने र अन्य चोटपटकबाट पनि अर्थोडोन्टिकको समस्या हुन सक्छ । दाँत झर्ने तथा उम्रने समयमा बढी अन्तर भएमा, दाँत र गिजासम्बन्धी रोग लागेमा, कुपोषण, दाँतको संख्यामा तलमाथि हुँदासमेत दाँत बांगोटिंगो हुने गर्छ ।
यसकारण आवश्यक छ उपचार
पछिल्लो समय नमिलेको तथा बांगोटिंगो दाँतको उपचार गराउनेको संख्या बढेको छ । जुन आवश्यक पनि हुन्छ, बांगो दात भएमा सफा गर्न गाह्रो हुने, दाँतमा किरा लाग्ने, गिजामा समस्या हुने तथा उछिट्टिएको दाँतमा चोटपटक लाग्ने डर रहन्छ । त्यस्तै, खाना चपाउन र बोल्न गाह्रो हुने र अनुहार असुहाउँदो देखिनेजस्ता समस्या हुन्छन् । यसको समाधानका लागि अर्थोडोन्टिक उपचारको आवश्यकता पर्छ ।