काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले विभिन्न जटील रोगहरुको उपचार, निदान तथा विशिष्टिकृत सेवासँग सम्बन्धित स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले कीर्तिपुरमा स्थापना गर्न लागेको मेडिकल स्पेसियालिटी एण्ड डाइग्नोस्टिक सेन्टर परियोजनाको काम अघि बढ्न सकेको छैन।
सेन्टर स्थापनासम्बन्धी ३६ अर्ब रुपैयाँको गुरुयोजना राष्ट्रिय योजना आयोग र स्वास्थ्य मन्त्रालयमा गएर रोकिएको आइओएमकी डिन प्रा डा दिव्यासिंह शाहले जानकारी दिएकी छन्।
उनका अनुसार १५ सय शय्याको उक्त सेन्टरको निर्माण ३ वर्षमा सक्ने गुरुयोजनामा उल्लेख गरिएको थियो। गुरुयोजनाको काम विनाअवरोध अगाडि बढेको भए आगामी सेप्टेम्बरमा शिलान्यास गर्ने लक्ष्य राखिएको थियो।
डा शाहले स्वास्थ्य मन्त्रालयले आइओएम शिक्षा मन्त्रालयअन्तर्गत पर्ने भएकाले यो परियोजनालाई आफ्नो नभनिरहेको र अर्थ मन्त्रालयको बुझाइमा पनि यो स्वास्थ्य मन्त्रालयअन्तर्गत पर्दैन भन्ने रहेको बताइन्। ‘नेपालभरका अस्पताल हेर्ने निकाय स्वास्थ्य हो, कोअर्डिनेसनको कमी भएर पनि यस्तो भएको हुनसक्छ,’ उनले भनिन्, ‘फेरि यो परियोजना स्वास्थ्य मन्त्रालयअन्तर्गत नपर्ने भएपनि देशको परियोजना हो।’
डा शाहले आइओएमको महाराजगन्जमा सञ्चालित कार्यक्रमहरु नरोकिने गरी केही विशिष्टिकृत कार्यक्रम तथा सेवा उक्त सेन्टरमा गर्ने तय गरिएको थियो। जसमा मिर्गौला प्रत्यारोपण, कार्डियोलोजी, पल्मोनोजी, युरोलोजी तथा लिभर सर्जरी र जिआई सर्जरी उक्त सेन्टरमा गर्ने गरी निश्चित गरिसकिएको छ।
उनले कीर्तिपुरको जग्गा त्रिविको आफ्नै भएकाले दुवाकोटको वीर अस्पतालको विस्तारित कार्यक्रमको लागतभन्दा सस्तो पर्ने बताइन्। ‘तर यो लगानी नोक्सान जाने खालको होइन,’ उनले भनिन्। भक्तपुरको दुवाकोटमा पनि वीर अस्पतालको विस्तारित सेवा सुरु गर्ने गरी काम अघि बढिरहेको छ।
आइओएमका अधिकारीहरु भक्तपुरको दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा या आइओएमको कीर्तिपुरस्थित स्पेसियालिटी सेवामध्ये स्वास्थ्यको रोजाईमा दुवाकोट नै परेको बताउँछन्। डिन शाहले शिक्षण अस्पतालका सेवा तथा भौतिक संरचनामा सुधार गर्ने प्रयास भइरहेको बताइन्।
उनले सर्वसाधारणको सुविधाका लागि अनलाइन टिकट सुरु गरिए पनि त्यसलाई प्रभावकारी बनाउने, शुल्क तिर्ने प्रक्रियालाई सुविधाजनक बनाउने, फार्मेसीलाई सुधार गर्ने प्रयास भइरहेको बताइन्।