काठमाडौं - शरीरको रोग प्रतिरोधात्मक क्षमतालाईबढाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका गुर्जो, बेसार, सुठो, मरिच, दालचिनी तथा पिपला, असुरो, तुलसी र तेजपात जस्ता जडिबुटी नियमित सेवन गनुपर्ने हुन्छ ।
कोरोनाविरुद्ध लड्न आयुर्वेद औषधि, खानपान, योग, ध्यान तथा शारीरिक व्यायामको माध्यमबाट शरीरको प्रतिरोधी क्षमता बढाउन सकिने उल्लेख छ । त्यस्तै, भान्छामा दैनिक प्रयोग गरिने परम्परागत जडीबुटीबाट पनि प्रतिरोधी क्षमता बढाउन सकिने चिकित्सकहरु बताउँछन् । नेपालमा पनि कोभिड सङ्क्रमण भएका व्यक्तिलाई प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने विभिन्न प्रकारका आयुर्वेदिक औषधि खुवाइएको उदाहरण छन् ।
महामारीको समयमा सङ्क्रमितले मात्र नभई स्वस्थ्य व्यक्तिले पनि शारीरिक तथा मानसिक रुपमा आफूलाई बलियो राख्नु अत्यावश्यक छ । शारीरिक रुपमा स्वस्थ हुन दैनिक व्यायाम, पोषिलो खानेकुरा, प्रतिरोधी क्षमता बढाउने जडिबुटीयुक्त आहार सेवन, योगाभ्यास तथा ध्यानका माध्यमबाट मानसिक स्वास्थ्य हासिल गर्न सकिने बिज्ञहरु बताउछन् ।
शारीरिक रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न चरकसंहिताअन्तर्गत रसायन चिकित्साका लागि प्रयोग हुने औषधि जस्तो तुलसी, हरिद्रा, जेठीमधु, द्राक्ष्य, सतावरी, अमला, पाँचऔँले, चिराइतो, गुर्जो, कपिकक्षु, भुइँअमला, बासा, हरितकी, पदमचाल, यार्सागुम्बा, मुसली, शिलाजित, निरमसीलगायत औषधि खानुपर्ने बिज्ञहरु बताउँछन् ।
भान्छामा दैनिक प्रयोग हुने टिमुर, खुर्सानी, लसुन, प्याज, बेसार, दालचिनी, ज्वानो, जिम्मु, धनियाँ, जिरालगायत मसलाबाट केही हदसम्म रोगको रोकथाम हुने सम्भावना बढ्ने बिज्ञहरु बताउँछन ।
प्रतिरोधी क्षमता विकास गर्न सूर्य नमस्कार, गरुडाशन, भुजाङशन, तडाशन, चतुराङ दण्डाशन, आधोमुख श्वानाशनलगायत योगासन गर्न बिज्ञहरुले सुझाव दिएका छन् । त्यस्तै भस्त्रिका, अनुलोमविलोम, भ्रामरी र कपालभाती प्राणायम गरेर पनि प्रतिरोधी क्षमता बढाउन सकिने उनीहरु बताउँछन् ।