काठमाडौं । नेपालमा प्रत्येक वर्ष ६९,००० नयाँ क्षयरोगका बिरामीहरु थपिदै जाने गरेको तथ्यांकले देखाएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरका अनुसार नेपालमा नयाँ र पुराना गरी १ लाख १७ हजार क्षयरोगका बिरामी रहेका छन् ।
‘बिरामी भएकामध्ये १६ हजारको मृत्यु हुने अनुमान छ,’ उनले भने, ‘अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामी संख्याको अनुपात हेर्दा अझै प्रतिवर्ष झण्डै ४० हजारभन्दा बढी व्यक्तिको रोग पत्ता लगाई उपचारको दायरमा ल्याउन आवश्यक देखिन्छ ।’
क्षयरोगका बिरामी महिलाको तुलनामा पुरुषमा धेरै हुने गरेको पाइएको छ । ‘६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र ७ प्रतिशत बालबालिका छन्,’ निर्देशक ठाकुरले भने ।
केन्द्रका अनुसार औषधि प्रतिरोधी क्षयरोगका बिरामीको संख्या वार्षिक २ हजार २ सय छन् । ‘यो संख्या जनसंख्याको अनुपातमा धेरै हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूची सार्वजनिक गरेकोमा नेपाल पनि समावेश भएको छ,’ उनले भने ।
आर्थिक वर्ष २०७७र०७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५ सय ६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ४ सय १८ जना उपचारमा दर्ता भएका थिए । ‘औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएको बिरामीको संख्या हेर्दा १ हजार ६ सय ३१ जनाको रोग पत्ता लगाई उपचारमा ल्याउन चुनौती देखिएको छ,’ उनले भने ।
क्षयरोगको लक्षण
– दुई हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लाग्नु ।
–साँझपख ज्वरो आउनु ।
– तौल घट्दै जानु ।
– खकारमा रगत देखिनु ।
– खाना खान मन नलाग्नु ।