एजेन्सी । कोभिड महामारी फैलिएसँगै विश्वव्यापी भोकमरीबाट प्रभावित हुनेहरुको संख्या तीव्र रुपमा बढेको छ।
भोकमरी, खाद्य असुरक्षा र कुपोषण न्यून गर्ने विश्वको प्रयास असफलतातर्फ गइरहेको संयुक्त राष्ट्र सघंको एक प्रतिवेदनले जनाएको छ।
२०२१ मा भोकमरीबाट ८२ करोड ८० लाख मानिस प्रभावित भएको ‘द स्टेट अफ फुड सेक्युरिटी एण्ड न्यूट्रिसन इन द वर्ल्ड (सोफी)’ को पछिल्लो प्रतिवेदनले खुलासा गरेको छ। यो कूल जनसंख्याको ९.८ प्रतिशत हो। यो संख्या २०२० भन्दा ४ करोड ६० लाखले र कोभिड सुरु भएयता १५करोड बढी हो।
हाल विश्वमा २ अर्बभन्दा बढी मानिसले खाद्य असुरक्षाको सामना गरिरहेको बताइएको छ।२०२१ मा खाद्य असुरक्षाका कारण विश्वभरि २ अर्ब ३ करोड मानिस मध्यम एवं गम्भीर रुपमा प्रभावित भएका छन्, जुन कोभिड महामारी सुरु भएयता ३५ करोडले वृद्धि हो। प्रतिवेदनमा विश्वभरि खाद्य असुरक्षामा लैंगिक असमानताको अन्तर निरन्तर फराकिलो भएकोसमेत जनाईएको छ।
महामारीको असर विश्व अर्थतन्त्रमा पनि परिरहेको छ जसले गर्दा महंगी पनि वृद्धि भइरहेको छ। राष्ट्रसंघीय प्रतिवेदन अनुसार पनि लगभग ३ अर्ब मानिस स्बस्थ आहार खरिद गर्न असमर्थ भएको बताइएको छ।
प्रतिवेदनअनुसार यो अवधिमा पाँच वर्षमुनिका लगभग ४ करोड ५० लाख बालबालिका गम्भीर किसिमको कुपोषणबाट पीडित भएको पाइएको छ, जसले बालबालिकामा मृत्युको जोखिम १२ गुणाले बढाएको छ । अझ अत्यावश्यक पोषणयुक्त खानाको अभावमा पाँच वर्ष मुनिका १४ करोड ९० लाख बालबालिकामा शारीरिक विकास सुुुस्त देखिएको छ।
हरेक वर्ष अस्वस्थकर खानेकुराका कारण १ करोड १० लाख मानिसको मृत्यु हुने गरेको छ। ‘खाद्यपदार्थको मूल्यवृद्धिको स्थिति झन् खराब अवस्था हो,’ विस्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेड्रोस घेब्रेयेससले भने। उनले सम्पूर्ण देशहरुलाई सन् २०३० को पोषण लक्ष्य पुरा गर्नका लागि सँगै काम गर्न आब्हान गरे।