एजेन्सी । बच्चाहरूलाई पनि अनिन्द्राको समस्याले सताउन सक्छ । अनिन्द्राको समस्या भएको बच्चालाई निदाउन गाह्रो हुने वा निदाइरहन समस्या हुनसक्छ।
आरामदायी निन्द्रा सम्पूर्ण शरीर र दिमागको कार्यलाई सन्तुलित राख्न, शरीर को उपचार र मर्मत प्रक्रियाका लागि महत्त्वपूर्ण हुन्छ । चारदेखि १२ महिनाका शिशुहरूलाई दैनिक १२ देखि १६ घण्टा निदाउन जरुरी हुन्छ।
त्यस्तै, एकदेखि दुई वर्षका बच्चालाई ११ देखि १४ घण्टा, तीनदेखि पाँच वर्षकालाई १० देखि १३ घण्टा, ६ देखि १२ वर्षको बच्चालाई नौदेखि १२ र १३ देखि १८ वर्षका किशोर-किशोरीलाई आठदेखि १२ घण्टा निन्द्रा चाहिने हुन्छ । अनिन्द्राको समस्या जो कोही र कुनै पनि उमेरमा हुनसक्छ । र, यो बच्चाहरूमा सामान्य हुन्छ।
समस्यालाई बेवास्ता गरिएमा यसले मोटोपना, मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घकालीन समस्या निम्त्याउँन सक्छ । पर्याप्त निन्द्रा नपाउनुको सबैभन्दा साधारण कारण ढिलो सुत्नु हो । त्यसैले सुत्ने तालिकालाई मिलाउनु महत्त्वपूर्ण हुन्छ । यसबाहेक तनाव, चिन्ता, क्याफिन (खानामा लुकेका स्रोतबाट), दम, एक्जिमा, खुट्टा हल्लाइरहने बानी, अटिजम तथा बौद्धिक अक्षमता जस्ता न्युरोडेलपमेन्टल डिसअर्डर बच्चाहरूमा अनिद्राको कारण हुन सक्छ।
अनिद्राको समस्या भएको बच्चामा ओछ्यानमा जाँदा निदाउन गाह्रो हुने, बिहान उठ्न गाह्रो हुने, रातको समयमा पटक-पटक आमाबुबालाई विभिन्न कारणले बोलाइरहने, थकान, मुड परिवर्तन हुने, छिटो रिस उठ्ने, रिस नियन्त्रण गर्न नसक्ने, एकाग्रताको अभाव, निर्णय लिन गाह्रो हुने जस्ता समस्याहरू देखिन सक्छ।
कहिलेकाँही अनिन्द्राको समस्या समयसँगै समाधान हुनेगर्छ । समस्या समाधान नभएमा जीवनशैली परिवर्तनका उपायहरू अपनाउनुपर्छ । अनिन्द्राको समस्या शारिरीक तथा मानसिक कारणले हुने हुँदा डाक्टरको परामर्श र औषधिको सेवनसमेत गर्नुपर्ने हुनसक्छ । डाक्टरको सल्लाहबिना बच्चालाई निन्द्रा लाग्ने औषधिको सेवन गराउनु हुँदैन।