रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र चन्द्रपुर अस्पताल प्रालिबीच इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी हिरासतमा रहेका थुनुवाहरुको प्रत्येक शनिबार निशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता भएको छ । सो सम्झौतामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तु प्रसाद जैसवार र चन्द्रपुर अस्पताल प्रालिका संचालक डाक्टर सुवास चौधरीले हस्ताक्षर गरेका थिए ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको अवधारणाको मुल भावलाई चरितार्थ गर्ने उद्देश्यले विभिन्न फौजदारी मुद्दाहरुको अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा रहने थुनुवाहरुको शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै उनीहरुको स्वास्थ्योपचारको हकलाई समेत सम्बोधन गर्ने चन्द्रपुर अस्पतालसँग सम्झौता गरेर योजना अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तु प्रसाद जैसवारले बताए ।
अनुसन्धानको क्रममा थुनुवा अवस्थामा रहेपनि उनीहरुको स्वास्थ्य सम्बन्धीका हक भने कायम रहने हुँदा त्यसैलाई मध्यनजर गर्दै चन्द्रपुर अस्पताल प्रालिसँग सम्झौता गरेर थुनुवाहरुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको उनको भनाइ छ ।
प्रहरीले कसैलाई पक्राउ गरेर हिरासतमा राख्नु अगडि उनीहरुको स्वास्थ्य परीक्षण गर्ने गरेको छ । त्यसपछि भने उनीहरुमा कुनै स्वास्थ्य समस्या देखिए मात्र परीक्षण गर्ने गरेको पाइन्छ । यसरी साप्ताहिक रुपमा दक्ष चिकित्सक सहितको स्वास्थ्य टोलीले प्रहरी कार्यालयमै गएर थुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नु नौलो अभ्यास भएको जानकारहरु बताउँछन् ।
अनमोल कार्कीको समाचार
हिरासतमा रहेका थुनुवाहरु विभिन्न स्थानहरुबाट आएका हुनाले उनीहरुको स्वास्थ्य समस्याहरु फरक फरक हुनसक्ने र सरुवा रोग भए अरुमा सर्ने जोखिम उच्च भएकाले अस्पतालले प्रहरीसँग साझेदारी गरेर कार्य गरेको चन्द्रपुर अस्पताल प्रालिका संचालक डाक्टर सुवास चौधरीले बताए । उनले चन्द्रपुर अस्पतालले यसअघि पनि सामुदायिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरु गर्दै आइरहेका स्मरण गर्दै थुनुवा बन्दीहरुको स्वास्थ्य परीण पनि त्यसकै निरन्तरता रहेको जनाए ।
सोही क्रममा शनिबार हिरासतमा रहेका ११ जनाको स्वास्थ्य परीण गरिएको थियो । चन्द्रपुर अस्पताल प्रालिको दुईजना दक्ष चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले थुनुवाहरुको रक्तचाप, सुगर, प्रेसर चेक गर्नुको साथै अन्य रोगहरुको पनि परिक्षण गरेका थिए । यसरी हिरासतमा रहेका थुनुवाहरु प्रहरी कार्यालयमै आएर स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्दा खुसी भएका थिए ।
परीक्षणको क्रममा थुनुवाहरुलाई विशेषगरी रक्तचाप, टाउको दुखाई, छालाको रोग , कानको रोग, सुगर लगायतको समस्या देखापरेको थियो । हिरासतमा बस्नुपर्दा केही कैदीहरुमा डिप्रेसनको पनि समस्या देखा पर्न थालेको चन्द्रपुर अस्पताल प्रालिका डाक्टर कुन्दन चौधरीले जनाए । अस्पतालले स्वास्थ्य समस्या देखिएकाहरुलाई परामर्श तथा निशुल्क औषधि पनि वितरण गरेको उनले जानकरी दिए ।