मोरङ । विराटनगरस्थित जिल्ला कारागार मोरङमा कोरोना भाइरसबाट सङ्क्रमित हुने कैदी बन्दीको सङ्ख्या ५४ पुगेको छ ।
पिसिआर परीक्षण गरिएकामध्ये थप ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो पटक ४८ जनाको परीक्षण गरिएकोमा ३५ जनामा कोरोना पुष्टि भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि १३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
यसअघि शुक्रबार १९ जना कैदी बन्दीमा कोरोना पुष्टि भएको थियो । उच्च ज्वरोका कारण बिरामी परेपछि उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएका १६ जनामा कोरोना पुष्टि भयो । त्यसपछि परीक्षण गरिएका थप तीन जनाको रिपोर्ट पनि पोजेटिभ आयो ।
प्रजिअ दाहालले सङ्क्रमित कैदी बन्दीलाई थप उपचारका लागि कोसी कोभिड अस्पतालमा भर्ना गरिने बताए । ‘कारागारभित्र कोरोना पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य नै छ । उनीहरुलाई कारागारभित्र नै राख्दा अरु कैदी बन्दीमा पनि सङ्क्रमण सल्किने खतरा छ,’ उनले भने, ‘त्यही भएकाले सङ्क्रमितलाई कारागारबाट निकालेर कोभिड अस्पताल लैजाने तयारी भइरहेको छ । अस्पतालको अवस्था बुझेर तत्काल उनीहरुलाई ‘सिफ्ट’ गरिने छ ।’
प्रजिअ दाहाल नेतृत्वको टोलीले अनुगमन एवम् निरीक्षण गरेर सङ्क्रमितको उपचारका लागि कोभिड अस्पतालमा बेडको अवस्था, स्वास्थ्यकर्मीसमेतका जनशक्तिको उपलब्धता, अस्पतालबाट प्रवाह भइरहेको सेवा प्रवाहलगायतका बारेमा जानकारी लिने तयारी गरिरहेको छ । कारागारका अन्य कैदी बन्दीको पनि कोरोना परीक्षण गरिने उनले बताए ।
‘सङ्क्रमितलाई उपचारका लागि लगेर अन्यको कोरोना परीक्षण सुरु गरिने छ । परीक्षण गर्दा शङ्कास्पद र ज्वरोको समस्या देखिएकाहरुलाई पहिलो प्राथमिकतामा राखिने छ,’ दाहाल भन्छन्, ‘रिपोर्ट पोजेटिभ आएकालाई कारागारभित्र राखिने छैन । शङ्कास्पदलाई पनि त्यहाँभित्र छुट्टै राख्ने व्यवस्था मिलाइएको छ ।’
महिला र पुरुष गरेर तीन सय जनाको क्षमता रहेको मोरङ कारागारमा तीन गुणाभन्दा बढी कैदी बन्दी राखिएको छ । कोचाकोच गरेर कैदी बन्दी राखिएको कारागारमा कोरोना फैलिएपछि त्यहाँको अवस्था समस्याग्रस्त बनेको छ ।
बसाई नै असहज भइरहेका बेला कोरोना फैलिएपछि कैदी बन्दीको व्यवस्थापन र उपचारमा समस्या हुन थालेको छ । कारागारमा हाल एक हजार १२ जना कैदी बन्दी रहेको प्रजिअ दाहालले बताए ।