काठमाडौं ।पन्ध्रौं योजनामा स्वास्थ्य क्षेत्रमा तोकिएका सूचकमध्ये अधिकांश सूचकको लक्ष्यमा न्युन प्रगति देखिएको छ।
महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार परिवार नियोजनको आधुनकि साधनको प्रयोग दर, प्रोटोकलअनुसार ४ पटकसम्म गर्भवती जाँच गर्ने महिला, भिटामिन ए प्राप्त गर्ने महिला, डीपीटी हेप खोप तेस्रो प्राप्त गर्ने बालबालिका, दादुरा खोप प्राप्त गर्ने बालबालिका, तोकिएबमोजिम सबै खोप पाउने बच्चा, नयाँ एचआईभी संक्रमित र स्वास्थ्य बिमामा आबद्ध जनसंख्यासम्बन्धी लक्ष्यमा न्युन प्रगति भएको छ।
प्रतिवेदनअुनसार आर्थिक वर्ष २०७७/७८ मा परिवार नियोजनको आधुनिक साधनको प्रयोग दर ५२ तोकिएकोमा प्रगति ४४.२ मात्र भएको छ। यस्तै, प्रोटोकलअनुसार चार पटक गर्भवती जाँच गर्ने महिला ७१ प्रतिशत पु¥याउने लक्ष्य राखिएकोमा ५४.८ प्रतिशतमात्र भएको छ।
भिटामिन ए प्राप्त गर्ने महिला ७५ प्रतिशत पुर्याउने लक्ष्य राखिएकोमा ५९, डीपीटी हेप खोप तेस्रो प्राप्त गर्ने बालबालिका ९१ प्रतिशतको लक्ष्य राखिएकोमा ८६.२, दादुरा खोप प्राप्त गर्ने बालबालिका ९१ प्रतिशतको लक्ष्यमा ८१.१, तोकिएबमोजिम सबै खोप पाउने बच्चा ९० प्रतिशतको लक्ष्यमा ६४.५, स्वास्थ्य बिमामा आबद्ध भएको जनसंख्या ४० प्रतिशत पुर्याउने लक्ष्य भएकोमा १८.१७ प्रतिशतमात्र रहेको छ।