काठमाडौं । स्वास्थ्य बिमामार्फत बिरामीको उपचार गरेवापत सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरुले स्वास्थ्य बिमासँग सम्बन्धित उपचार सेवा बन्द गरेका छन् ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, मोरङको बूढीगङ्गास्थित विराट मेडिकल कलेज र झापाको बिर्तामोडस्थित बि एन्ड सी अस्पतालले एकैसाथ स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेका हुन् । तीनवटै अस्पतालले बिमा कार्यक्रम बन्द गर्ने भन्दै आइतबार सूचना जारी गरेका छन् ।
आइतबार राति १२ बजेबाट बिमामार्फतको उपचार सेवा बन्द गरिने अस्पतालहरुले जनाएका छन् । स्वास्थ्य बिमा कार्यक्रममार्फत बिरामीको निःशुल्क उपचार गरेवापत स्वास्थ्य बिमा बोर्डले यी तीन अस्पताललाई एक अर्ब ४५ करोड रकम भुक्तानी गर्न बाँकी छ । नोबेलको ५५ करोड, विराटको ४६ करोड र बि एन्ड सीको ४४ करोड रकम स्वास्थ्य बीमा बोर्डले भुक्तानी गरेको छैन ।
सरकारले अस्पतालहरुलाई बिमामार्फत उपचार गर्न लगाएर करोडौं रकम भुक्तानी नदिएपछि बाध्य भएर स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्नु परेको नोबेल अस्पतालका सञ्चालक डा. सुनील शर्माले बताए ।
‘सरकारले करोडौं रकम महिनौंसम्म भुक्तानी नदिँदा अस्पतालहरु धराशायी बन्दै गएका छन् र कर्मचारीहरुलाई समयमै तलब खुवाउन सकिएको छैन । अन्य भुक्तानीहरु रोकिएका छन् । उपचार सेवा नै प्रभावित हुने अवस्था बनिसकेको छ,’ डा.शर्माले भने, ‘सरकार यो बिषयमा गम्भीर बनेन । अरु उपाय नलागेपछि हामीले बाध्य भएर बिमावापतको उपचार रोक्ने निर्णय लिएका छौं ।’
आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा २०७९ साउन १ गतेदेखि सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भनिएको थियो । तर, त्यसपछि अस्पतालहरुलाई कुनै आधिकारिक कुरा नआएकाले अब स्वास्थ्य बिमावापत उपचार गर्दा त्यसको भुक्तानी प्राप्त हुने वा नहुने अन्योल भएकाले पनि बिमा कार्यक्रम बन्द गर्नु परेको डा.शर्मा बताउँछन् । बाध्य भएर स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्नु परेको भन्दै नोबेलले आइतबार स्वास्थ्य बिमा बोर्डलाई पनि पत्र पठाएको छ ।
‘बिमा क्लेम अनुसारको रकम समयमा प्राप्त नहुँदा अस्पतालले आर्थिक व्यवस्थापनमा ठूलो कठिनाइ भोग्दै आइरहेको छ । कर्मचारीको तलब, विभिन्न सप्लायर्सहरुको बाँकी वक्यौता, बैङ्कको ऋणको किस्ता तथा ब्याज, राज्यलाई भुक्तानी गर्नुपर्ने कर लगायत समयमा भुक्तानी गर्न समस्या भएको छ,’ नोबेलले स्वास्थ्य बिमा बोर्डको विराटनगरस्थित प्रदेश कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘बिमा क्लेमवापतको भुक्तानी नभएसम्म र सरकारले निजी स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य बिमा कार्यक्रम प्रदान गर्ने निश्चित नगरेसम्म त्यस कार्यक्रमअन्तर्गतको उपचार सेवा स्थगन गरिएको छ ।’
सर्वसाधरण जनताको उपचारमा सरकार लापरबाह बन्दा निजी अस्पतालहरुले भटाभट स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्ने स्थिती बनेको विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्की बताउँछन्। ‘स्वास्थ्य बिमाले सर्वसाधारण जनतालाई उपचारमा धेरै सजिलो भएको थियो । तर सरकार जनताको मामिलामा गम्भीर नबन्दा अस्पतालहरुले उपचार रोक्नुपर्ने अवस्था बनेको छ,’ डा।कार्की भन्छन्, ‘सरकारले बिमाको भुक्तानी नदिँदा कर्मचारीहरुलाई तलब खुवाउन सकिएको छैन । कर्मचारीहरुले जागिर छोड्न थालिसकेकाले बाध्य भएर बिमाको उपचार रोक्नु परेको छ ।’
निजी क्षेत्रबाट सञ्चालित पूर्वका तीन ठूला अस्पताल, नोबेल, विराट र बि एन्ड सीमा दैनिक सयौँ बिरामीले स्वास्थ्य बिमावापत निःशुल्क उपचार गराउँदै आएका थिए । अब भने यो सेवा प्रभावित बन्ने भएको हो । स्वास्थ्य बिमा कार्यक्रम बन्द भए पनि शुल्क तिरेर गरिने उपचार सेवा भने सूचारु हुने अस्पतालहरुले जनाएका छन् ।
सरकारले प्रति परिवार वार्षिक तीन हजार पाँच सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँच जना सदस्यलाई वार्षिक एक लाख बराबरको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको छ । यसबाट सर्वसाधरणले स्वास्थ्य उपचारमा ठूलो राहत महसुस गरेका छन्।
स्वास्थ्य बिमा बापतको उपचारका लागि सरकारले देशभरका चार सय ५० स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ। तर, उपचार गरेवापत सरकारले स्वास्थ्य संस्थाहरुलाई दिनुपर्ने भुक्तानी समयमै नदिँदा सेवा प्रभावित बनेको हो।