काठमाडौँ । डिहाइड्रेसन अर्थात् शरीरमा पानीको कमी हुनु । गर्मीमा डिहाइड्रेसनको समस्या साधारण हो । गर्मीमा बढी पसिना निस्कनुका साथै शरीरको तापक्रम पनि बढ्ने हुनाले शरीरमा पानीको मात्रा निकै घट्दछ । यस्तो अवस्थामा डिहाइड्रेसनको खतरा निकै बढ्दछ ।
विशेषतः नेपालको तराई क्षेत्रमा ग्रीष्म याममा अतिगर्मी हुने गर्छ । गर्मीले यी क्षेत्रका मानिसमा डिहाइड्रेसन अथवा हिट स्ट्रोकका कारण विभिन्न किसिमका रोग देखा पर्ने गरेका छन् । कतिपय अवस्थामा त व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसैले डिहाइड्रेसनबाट बच्न यसका लक्षणबारे जानकार भई यसबाट बच्ने उपायहरु अपनाउनु अत्यन्त जरुरी छ । डिहाइड्रेसनका लक्षण यसप्रकार छन् :
आठ घण्टासम्म पनि पिसाब नआउनु
यदि प्रशस्त पानी पिउने हो भने सामान्यतया ३० मिनेटदेखि ४ घण्टाको अन्तरालमा मानिसलाई पिसाब लाग्दछ । तर, यदि लगातार ८ घण्टासम्म पिसाब आएन भने त्यो डिहाइड्रेसनको संकेत हो ।
पिसाबको रङ गाढा पहेंलो हुनु
औषधिको बढी प्रयोग गर्ने मानिसको पिसाब पहेंलो हुन सक्छ । तर, यदि औषधि नलिई नै सामान्य स्थितिमा पनि पिसाबको रङ गाढा पहेंलो, गन्ध आउने र निकै कम मात्रामा पिसाब आउँछ भने यो पनि डिहाइड्रेसनको लक्षण हो ।
अचानक रिंगटा लाग्नु र अँध्यारो देखिनु
डिहाइड्रेसनको स्तर बढेपछि मानिसलाई अचानक रिंगटा लाग्न सक्छ । आँखाअगाडि अँध्यारो देखिन सक्छ । त्यस्तै, टाउको दुख्ने समस्या पनि हुन सक्छ । यस्तो अवस्थामा मानिसलाई साधारण पानीभन्दा पनि कागती पानी, नरिवलको पानी, ग्लुकोज पानी मोही आदि दिनु राम्रो हुन्छ ।
ओठ फुट्नु र छाला खस्रो हुनु
डिहाइड्रेसन भएमा शरीरमा पानीको मात्रा कम भई व्यक्तिको छाला खस्रो हुन्छ र ओठ पनि फुट्न थाल्छ । ओठ फुट्नु, छाला खस्रो भई सेतो धर्सो देखिनु आदि पनि डिहाइड्रेसनका लक्षण हुन् । कतिपय अवस्थामा त छाला डढेको जस्तो रातो पनि हुन्छ ।
टाउको दुख्नु
शरीरमा पानीको मात्रा कम भएमा टाउको दुख्ने समस्या हुन सक्छ । गर्मीमा टाउको दुख्ने मानिसमा डिहाइड्रेसनको समस्या बढी देखिने गरेको छ । मानिसको मस्तिष्क एक प्रकारको तरल पदार्थको झिल्लीमा हुन्छ । यो तरल पदार्थले मस्तिष्कलाई शान्त राख्न सहयोग गर्छ । तर, यदि झिल्लीमा तरलता कम भयो भने टाउको दुख्नुका साथै टाउको र मस्तिष्कसम्बन्धी विभिन्न किसिमका समस्या आउन सक्छन् ।
डिहाइड्रेसनबाट बच्ने उपाय
डिहाइड्रेसनबाट बच्न प्रशस्त मात्रामा पानी पिउनुपर्दछ । गर्मी महिनामा पसिना बढी आउनुका साथै शरीरको तापक्रम बढ्न सक्छ । त्यसैले अन्य समयको तुलनामा गर्मीमा पानीका साथै अन्य रसादियुक्त पदार्थमा बढी जोड दिनुपर्छ । दैनिक कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । अझ गर्मी महिनामा ५ लिटर पानी पिउनु उपयुक्त मानिन्छ ।
त्यस्तै, काँक्रो, खरबुजा, मुला, गाँजर, अमला, ब्रोकाउली, किवी आदि फलमा पानीको मात्रा प्रशस्त हुन्छ भने तिनमा क्यालोरी पनि निकै कम हुन्छ । त्यस्तै, यी फलमा शरीरलाई आवश्यक भिटामिन पनि प्रशस्त पाइने हुनाले डिहाइड्रेसनबाट बच्न यी फलको सेवन गर्नु निकै राम्रो हो ।