काठमाडौं । स्पाइनल इन्जरी नेटवर्कले काठमाडौं महानगरपालिकाका मुख्य सहरी क्षेत्रमा सार्वजनिक तथा निजी साझेदारीमा अपांगतामैत्री शौचालय निर्माण गर्न माग गरेको छ ।
नेटवर्कले महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनीता डंगोललाई भेट गरी महानगरपालिकाका सार्वजनिक शौचालय अपांगतामैत्री नहुँदा ठूलो कष्ट सहनुपरेको भन्दै यस्तो माग गरेको हो।
नेटवर्कले मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई दैनिक नभइ नहुने मेडिकलजन्य सामग्री (युरिन ब्याग, जाइलोकन जेली, सीआइसी पाइप, फोलिस र सी क्याथेटर, डाइपर, स्यानेटरी प्याड, कोलोस्टोमी ब्याग, पन्जा) महानगरले निःशुल्क रुपमा उपलब्ध गराएका औषधि कार्यान्वयनमा ल्याउन तथा मेरुदण्ड पक्षघात भइ अपांगता भएका व्यक्तिहरुले नियमित रुपमा सेवन गर्ने औषधि (अक्सिपास, यूरोडिन ट्याब्लेट) अनिवार्य रुपमा उपलब्ध गराउन माग गरेको छ।
यस्तै, मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई योग्यताअनुसारको रोजगार, आवासीय व्यवस्थासहित सीपमूलक तालिमको व्यवस्था गर्नुका साथै उद्योग, व्यवसाय सञ्चालन गर्न चाहेमा महानगरपालिकाले लिँदै आएका सबै कर छुटको व्यवस्था गर्न माग गरेको छ।
नेटवर्क टोलीसँगको भेटपछि उपप्रमुख डंगोलले महानगरको लगानीमा बन्ने स्मार्ट शौचालयलाई सबैको पहुँचयुक्त बनाइने प्रतिबद्धता जनाएकी थिइन्। यस्तै, प्रमुख शाहले अन्तर्राष्ट्रियस्तरको ह्वीलचेयर बास्केटबल, ह्वीलचेयर क्रिकेटसति पारा खेलकुदहरुको आयोजनाका लागि महानगरले सार्वजनिक निजी साझेदारीअन्तर्गत काम गर्ने प्रतिबद्धता जनाए।
स्पाइनल इन्जरी नेटवर्कले राखेका मागहरू
१) अपाङ्गता भएका व्यक्तिबारे राज्य तहबाटै विभेद सिर्जना गर्न नहुने । वर्तमान वर्गीकरण अनुसार स्पाइनल कर्ड इन्जरीलाई अतिअशक्त अपाङ्गता वर्गीकरण गरि नीलो परिचयपत्र दिइन्छ। स्पाइनल इन्जरी भनेको अतिगम्भीर अपाङ्गता हो । महानगरपालिकाले पूर्णअपाङ्गतामात्रलाई मात्रै सामाजिक सुरक्षाको दायरामा ल्याउँदा विभेद भएको छ । यसमा तत्कालै सुधार होस् ।
२) महानगरपालिकाका सार्वजनिक शौचालय अपाङ्गतामैत्री नहुँदा ठूलो कष्ट सहनु परेको छ । सार्वजनिक तथा निजी साझेदारीमा मुख्य सहरी क्षेत्रमा अपाङ्गतामैत्री शौचालय निर्माण गर्नु पर्ने ।
३) मेरुदण्ड पक्षघात भएका व्यक्तिहरूलाई दैनिक रुपमा नभइ नहुने मेडिकलजन्य सामाग्री (युरिन व्याग, जाइलोकन जेली, सि.आइ.सि.पाइप, फोलिस र सि क्याथेटर, डाइपर, स्यानेटरी प्याड, कोलोस्टोमी व्याग, पन्जा, महानगरले निःशुल्क रुपमा उपलब्ध गराएका औषधीहरू कार्यान्वयनमा ल्याउने साथै मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका व्यक्तिहरुले नियमित सेवन गर्ने औषधीहरु (अक्सिपास, यूरोडिन ट्याब्लेट) अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने ।
४) मेरुदण्डको चोटको आधारमा पक्षघात भएका व्यक्तिहरुलाई सहयोगीको व्यवस्था सहित आवश्यकता अनुसारको सहायक सामाग्रीहरु जस्तैः म्यानुअल र इलेक्ट्रिक ह्विलचियर, बैशाखी, उपयुक्त कुसन तथा अन्य आवश्यक सामग्रीहरु हरेक तीन वर्षमा वडा कार्यलयमार्फत उपलब्ध गराउनु पर्ने ।
५) मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई योग्यता अनुसारको रोजगार, आवासीय व्यवस्थासहित सीपमूलक तालिमको व्यवस्था गर्नुका साथै उद्योग, व्यवसाय संचालन गर्न चाहेमा महानगरपालिकाले लिँदै आएका सबै कर छुटको व्यवस्था गरिनु पर्ने ।
६) मेरुदण्डीय पक्षघात भएका ब्यक्तिहरुको खर्चको अनुपातमा खाई पाई आएको सामाजिक सुरक्षा भत्ता अति नै कम भएकोले पूर्ण अशक्तसरह अति अशक्त वर्गलाई पनि थप रकम वृद्धि गरिनु पर्ने ।
७) आन्तरिक र बाह्य पर्यटनको आर्कषणको केन्द्र बिन्दु रहेको काठमाडौ दरवार स्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथको परिसर अन्य पर्यटकीय स्थलहरुमा अपाङ्गमैत्री शौचालयको ब्यवस्थाका साथै ,सार्वजनिक पार्क, स्थलहरु पुर्ण अपाङ्गमैत्री हुनु पर्ने । सबै क्षेत्रमा सहज पहुचको व्यवस्था हुनु पर्ने । स्वयम्भू नाथमा लिफ्टको ब्यवस्था हुनु पर्ने । पशुपतिनाथको सौदर्यकिकरणका साथै सम्पुर्ण क्षेत्र ह्वीलचेयेर पहुँच हुनुपर्ने ।
८) आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई पुनस्र्थापनाको लागि आवश्यक रकम उपलब्ध गराइनु पर्ने । साथै मनोपरामर्श र फिजियो थेरापी सेवाको निःशुल्क व्यावस्था गरिनुपर्ने ।
९) आर्थिक अवस्था कमजोर पूर्र्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुका सन्तानहरुले पढ्न चाहेमा निजी तथा सरकारी दुवै मेडिकल र इञ्जिनियरिङ कलेजहरुमा उच्च शिक्षासम्म उचित छात्रवृत्तिको व्यवस्था गरिनु पर्ने ।
१०) विभिन्न कारणले अपाङ्गता भई व्हीलचेयर प्रयोग गर्न वाध्य भएका खेलाडीहरुको शारीरिक मानसिक विकास र आत्माबल उच्च राख्नको लागि विषेश अवसरमा वर्षेनी मेयर कप व्हीलचेयर बास्केटबल तथा व्हीलचेयर क्रिकेट खेलको आयोजना गराउनु पर्ने ।
११) बैंक तथा वित्तीय क्षेत्र अपाङ्गतामैत्री नहुँदा वित्तीय पहुँचबाट बञ्चित हुनुपरेको छ । महानगरपालिकाको नेतृत्वमा पहुँचयुक्त वित्तीय सेवाको पहल हुनुपर्ने महानगरपालिकाका तथा सबै वडा कार्यालय अपाङ्गतामैत्री बनाउनु पर्ने ।
१२) काठमाडौं महानगरपालिकाको कर तथा महसुलमा अपाङ्गता भएका नागरिकलाई सतप्रतिशत छुट दिने व्यवस्था गर्नु पर्ने