काठमाडौं । सरकारका कारण स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न बाध्य भएको निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालहरुले बताएका छन् । सरकारले लामो समयदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेवापतको सोधभर्ना रकम नदिएको र आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यले अब उप्राप्त सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थामा मात्र बीमा कार्यक्रम लागू गर्ने भनेकाले आफुहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरेको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वका तीन मेडिकल कलेज सञ्चालकहरुले सरकारकै कारण आफुहरु स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नबाट पछि हटेको बताए । विराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्मा, विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्की तथा बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बीमा कार्यक्रम स्थगित हुनुमा नीजि मेडिकल कलेज भन्दा पनि सरकार दोषी रहेको जिकीर गरे ।
‘पत्रकार सम्मेलनमा बोल्दै नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले स्वास्थ्य बीमा कार्यक्रमले नीजि मेडिकल कलेजहरुलाई कुनै लाभ नभएको जनाउँदै सामाजिक उत्तरदायित्व अन्तरगत राज्यले गर्नुपर्ने काम नीजि क्षेत्रहरुले गर्दा पनि जस नपाएको गुनासो गरे । ‘जनताप्रति राज्य उत्तरदायी भएन । हामीलाई बीमा कार्यक्रम चदाउँदा केही फाइदा नभएपनि सामाजिक उत्तरदायित्वको काम भनेर चलाएका थियौं, तर, राज्यले देखेन ।’ डा. शर्माले भने ।
उनले आम सर्वसाधारणले बीमा कार्यक्रम हामीले रोकेको भन्ने गलत सन्देश प्रवाह भएकोमा स्वास्थ्य बीमा कार्यक्रम रोक्ने नीजि स्वास्थ्य संस्थाहरुको उद्देश्य नरहेको प्रष्ट पारे । ‘हामीले पो बीमा रोकेको होकी भन्ने गलत बुझाई भयो, तर त्यसो होईन राज्यले नै हामीलाई चलाउन नदिने भनेपछि हामीले सूचना जारी गरेका हौँ । यो कुरा स्पष्ट हुन जरुरी छ’ उनले भने ।
कार्यक्रममा बोल्दै विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले सरकारले गत १५ जेठमा प्रस्तुत गरेको बजेट बतव्यको १५१ नम्बर बुँदामा स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालमा मात्रै सञ्चालन गर्ने भनिएको र त्यसपछिको डेढ महिनासम्म आफुहरुलाई कुनै निर्देशन नआएको र आफुहरुले जानकारी लिन खोज्दा पनि सरकारले केही नभनेपछि बीमा कार्यक्रम स्थगन गरेको बताए । ‘सरकारले केही जानकारी नदिएपछि हामी आफैंले चासो राखेर सोधखोज गर्दा पनि जानकारी नपाएपछि बाध्य भएर बीमा कार्यक्रम रोकेका हौँ ।’ प्रसाईंले भने ।
उनले सरकारले स्वास्थ्य क्षेत्रमा गर्न नसकेको काम नीजि स्वास्थ्य संस्थाहरुले गरेको भएपनि राज्यले नदेखेको बताउँदै आफुले सामाजिक उत्तरदायित्व अन्तरगत ६ हजार जनाको स्वास्थ्य बीमा गरिदिएको समेत बताए । उनले सरकारी अस्पतालले मात्रै स्वास्थ्य बीमा कार्यक्रम धान्न नसक्ने भन्दै त्यसको प्रत्यक्ष हानी जनतालाई हुने दावी पनि गरे ।
कार्यक्रममा बोल्दै विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिं कार्कीले राज्यको नीति अनुसार नै आफूहरुले बीमा कार्यक्रम स्थगित गरेको बताए । विगत लामो समयदेखि स्वास्थ्य बीमा कार्यक्रमको करोडौं सोधभर्ना रकम नपाउँदा अस्पताल सञ्चालनमै समस्या आइरहेको बताउँदै बीमा बोर्डले बिगतको सबै वक्यौताहरु भुक्तानी गरेर नयाँ सम्झौता गरे आफुहरु पुनः बीमा कार्यक्रम चलाउन तयार रहेको डा. कार्कीको भनाई छ ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमको सोधभर्ना भुक्तानी नगर्दा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका नीजि स्वास्थ्य संस्था मात्र हैन सरकारी संस्था समेत समस्यामा परेका छन् । नीजि स्वास्थ्य संस्थाहरुले भन्दा अगाडी सरकारी स्वास्थ्य संस्थाहरु त्रिवि शिक्षण अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले समेत स्वास्थ्य बीमा कार्यक्रम रोक्ने चेतावनी पटकपटक दिँदै आइरहेका थिए ।