कोरोनाभाइरस सङ्क्रमणदर बढ्न थालेपछि मङ्गलवारदेखि काठमाण्डू उपत्यकामा बूस्टर डोज खोप वितरण सुरु गरिएको छ।
सङ्क्रमणको जोखिम बढे पनि अहिलेसम्म दुई मात्रा खोप लगाएका मानिसमध्ये २३ प्रतिशत मानिसले मात्र अतिरिक्त मात्रा खोप लगाएकाले पुनः तेस्रो मात्रा दिन थालिएको अधिकारीहरूले बताएका छन्।
खोपको आवश्यक मात्रा अन्य जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पनि उपलब्ध गराएका र खोप पुगेका ठाउँहरूमा अनुकूलता हेरेर वितरण गरिने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले बताए।
"सरकारले तेस्रो मात्रा खोप दिने अभियान चलाउँदा चलाउँदै पनि मानिसहरूले चासो नदिए जस्तो देखिन्छ। केही स्थानीय तहमा यसबारे सन्देश राम्रोसँग भएन कि जस्तो लागेको छ," उनले भने।
"अबको चरणमा दुई मात्रा लगाएका सबैले तेस्रो मात्रा लगाउनेगरी अभियान सञ्चालन हुन्छ।"
अहिलेसम्म देशका १२ वर्ष उमेर समूहमाथिका कुल जनसङ्ख्यामध्ये ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएको उनको भनाइ छ।
तीमध्ये २३ देखि २४ प्रतिशत मानिसले तेस्रो मात्रा खोप लिएको दाहालले बताए।
तेस्रो मात्रा किन आवश्यक?
अध्ययनले अतिरिक्त मात्रा खोपको प्रभावकारिता पुष्टि गरेको विज्ञहरू बताउँछन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले कोभिडविरुद्ध खोपको अतिरिक्त मात्रा लगाएकाहरूलाई ९५ प्रतिशत सुरक्षा प्राप्त भएको देखाएको छ।
अध्ययनमा संलग्न डा. विष्णु मरासिनीका अनुसार पहिलो मात्रा लगाएकामध्ये ६८ प्रतिशत र पहिलो र दोस्रो दुवै मात्रा खोप पाएकाहरूमध्ये ८३ प्रतिशतमा दोहोर्याएर सङ्क्रमण भएको देखिएन।
उनका अनुसार खोप लगाएको छ महिनापछि मानिसको शरीरमा त्यसले विकास गरेको एन्टिबडी ८० प्रतिशतसम्म घटेको पाइएको छ।
एन्टिबडी घट्ने भएकै कारण अतिरिक्त खोप लगाउन आवश्यक भएको सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
"सङ्क्रमणविरुद्ध थप सुरक्षाका निम्ति खोप प्रभावकारी पुष्टि भएको छ। त्यसैले सङ्क्रमण भए पनि अवस्था जटिल बन्न नदिन अतिरिक्त मात्रा लगाउनुपर्छ," उनले भने।
ओमिक्रोन भाइरसका विभिन्न सब-भेरिअन्टहरू फैलिँदै गरेको स्थितिमा मास्क, स्यानिटाइजर प्रयोग गर्नुबाहेक खोप पनि अत्यावश्यक भएको उनको ठहर छ।
"अब भिड नगर्न वा सामाजिक दूरी कायम गर्न मानिस तयार छैनन्। त्यसैले खोप नलगाएका मानिसलाई पहिलो र दोस्रो मात्रा तथा दुवै मात्रा लगाएकालाई अतिरिक्त मात्रा लगाउन जोड दिनुपर्छ," उनले भने।
कस्तो छ सङ्क्रमणको अवस्था?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रकाशित विवरणअनुसार नेपालभरि मङ्गलवार अपराह्णसम्म १,९८२ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये अधिकांश पीसीआर परीक्षण गर्न जाँदा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति हुन्।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ३५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
यस साता करिब साढे दुई महिनापछि कोभिडका कारण बिरामीको मृत्यु भएको मन्त्रालयले जनाएको छ। आइतवार र सोमवार एकएक जना सङ्क्रमितको मृत्यु भएको विवरण सरकारले सार्वजनिक गरेको छ।
सङ्क्रमण बढिरहेको र त्यसको नियन्त्रणका लागि राज्यसँग उपलब्ध सम्पूर्ण संयन्त्र सक्रिय बनाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ईडीसीडीका निर्देशक डा. चुमनलाल दासले बताएका छन्।
उनका अनुसार नेपाल-भारत सीमा क्षेत्रमा परीक्षणमा कडाइ गरिएको छ।
"परीक्षणसँगै नमुना सङ्कलन र जीन सीक्वन्सिङ पनि गरिरहेका छौँ," उनले भने। उनले सबै अस्पतालहरूलाई लक्षण हेरेर औषधि, अक्सिजन र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिएको बताए।
"यसअघिका लहरहरूमै हामीले आवश्यक स्रोत जुटाएका छौँ। जिल्ला स्तरबाट समन्वय र व्यवस्थापनसहित ती सामग्रीको प्रयोग गर्छौँ," उनले भने।
मापदण्ड पालनको स्थिति कमजोर भएकाले त्यसलाई जनस्तरबाटै सुधार्ने गर्न सचेतना कार्यक्रम अघि बढाएको दासको भनाइ छ।