काठमाडौं- विवाह गर्दा उनी निकै खुशी थिइन । तर, दापम्त्य जीवनमा बाँधिएको ४५ दिनमा उनीमाथी बज्रपात भयो । श्रीमानले छोडे । उनका सुखद सपना चक्नाचुर भए ।
सम्बन्ध विग्रनुमा उनको दोष थिएन । पहिलो पटक शारिरीक सम्बन्ध राख्दा योनीबाट रगत नबगेकोले जुठो भएको भन्दै श्रीमानले झुटो आरोप लगाएको उनले रुँदै बताइन । नाम उल्लेख नगर्ने शर्तमा उनले भनिन, ‘विहेगरे लगत्तै अर्कै व्यक्तिसँग अनुचित सम्बन्ध राखेको भन्दै कुटपीट गरे । गलत नगरेको बताएपनि विश्वास नै गरेनन । रातदिन कतिन्जेल कुटाई खाइरहने ?’
प्लस टु अध्ययनरत छँदा दाम्पत्य जीवनमा बाँधिएकी उनी अहिले पीडामा छिन । अहिले घर छोडेर माइतीमा आश्रय लिएकी छिन ।
०००००
के हो कुमारित्व ?
कुमारित्वको विषयलाई लिएर धेरैको वैवाहिक जीवन धरापमा पर्ने गरेको छ । बैबाहिक जीवनमा दरार आएको छ भने कतिपयको दाम्पत्य सम्बन्ध विच्छेदमा समेत परिणत भएको छ ।
कुमारित्वलाई अंगे्रजीमा भर्जिनिटि भनिन्छ । महिलाको योनीमा हुने पातलो झिल्ली अर्थात हायमन लेयरलाई कुमारित्वसँग जोडने गरिन्छ । यो पातलो झिल्लीको सम्बन्धमा पुरुषहरुमा पर्याप्त जानकारी नभएका कारण महिलालाई दोष दिने गरेको चिकित्सकहरुको भनाई छ ।
बरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा चन्दा कार्की भन्छिन् ‘हायमन लेयर जुनसुकै बेला पनि च्यातिन सक्छ । यसलाई कुमारित्वसँग जोडनु अज्ञानता हो । हाइमन लेयरलाई लिएर कोहि महिला भर्जिन छैन वा कुमारित्व भंग भइसकेको रहेछ भन्ने आरोप गलत हो ।’
शारीरिक सम्पर्क नराखेसम्म यो झिल्ली टुटदैन भन्ने अन्धविश्वास वा भ्रम कतिपय शिक्षित व्यक्तिमा पनि पाइन्छ । आधुनिक विज्ञानले यो भ्रम भएको पुष्टी गरिसकेको छ । पहिलो पटक शारिरीक सम्बन्ध राख्दा महिलाको योनीबाट रगत निष्काशन हुनु पर्छ भन्ने अन्धविश्वासले पुरुषलाई जकडेको पाइन्छ । अल्पविकसित मुलुकमा बसोबास गर्ने पुरुषहरुमा यस खालका भ्रमहरु रहने गरेको स्त्री तथा प्रसुति रोग विशेषज्ञको भनाई छ ।
के हो हायमन लेयर ?
योनीको मुखमा हुने एकदमै पातलो झिल्लि जस्तो पर्दा नै हायमन लेयर हो । महिलाले शारीरिक वनावट चुस्त राख्नका लागि गरिने शारिरीक व्यायामका क्रममा पनि यो च्यातिने गर्छ ।
त्यस्तै साइकल चलाउने, घोडा चढने, हाइजम्प, लङजम्प वा अन्य शारिरीक क्रियाकपालका क्रममा हायमनल लेयर टुट्ने प्राडा चन्दा कार्कीले जानकारी दिइन । महिनावारी हुँदा टयाम्पनको प्रयोगले पनि हायमन लेयर च्यातिने डा. कार्कीले बताइन ।
महिलामाथी हिंसा
विगतमा महिनावारी नहुँदै बालविवाह हुन्थ्यो । कलिलै उमेरमा विवाह पछि यौन सम्बन्ध कायम राख्दा हायमन च्यातिने हुन्थ्यो । रगत समेत बग्थ्यो । त्यसैलाई लिएर अहिले पनि कुमारित्वलाई हाइमेन लेयरसँग जोडेर हेर्न नमिल्ने डा. कार्कीको तर्क छ ।
उनी भन्छिन, शारीरिक सम्पर्क पछि मात्र हायमन लेयर च्यातिन्छ भन्ने भ्रम कतिपय पुरुषमा अझैं छ । हायमनल लेयर च्यातिएन भन्दै कुटपीट गर्नु महिलामाथीको हिंसा पनि हो । कुमारित्व भंग भइसकेको भन्दै गरिने लगाइने आरोप महिलामाथीको अमानवीय व्यवहार हो । ’
यौन सम्पर्क राख्दा रगत बग्नै पर्छ भन्ने सोंच नै गलत हो । हायमन लेयर नटुटेका महिलासँगको यौन सम्बन्धमा पनि रगत नबग्न सक्ने स्त्री रोग विशेषज्ञहरु बताउँछन ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )का अनुसार, कुमारित्वको विषयमा महिलालाई होच्याउने वा दुव्र्यपहार गर्नु अपमान र आत्मसम्मान विरोधी कार्य हो । डब्लुएचओले वक्तव्य जारी गर्दै चिकित्सा विज्ञानमा कुमारित्वको कुनै स्थान नरहेको उल्लेख गरेको छ ।
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७ ०२:१६