लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिकाका तीनजनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।
अस्पतालमा उपचारका निम्ती गएका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेँगु सक्रमण पुष्टि भएको हो ।
डेंगु रोग संक्रमण पुष्टि हुनेहरू मध्यनेपाल ६, भोर्लेटारका रहेका छन् । डेंगु संक्रमण पुष्टि भएकामध्ये एकजनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
अस्पतालमा आएका बिरामीमा डेंगु संक्रमण पुष्टि भएसँगै स्थानीय नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय लमजुङमा जानकारी गराइएको अस्पतालले जनाएको छ ।
लामखुट्टेको टोकाइबाट डेँगु रोगको जोखिम हुने र पछिल्लो समय ठाउँठाउँमा यसको लक्षण देखिएकोले सचेत हुन स्वास्थ्य कार्यालय लमजुङले सर्वसाधरणलाई अनुरोध गरेको छ । एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेंगु रोग सर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
विशेषगरी, बर्खाको समय साउनदेखि कात्तिकसम्म डेंगुको उच्च जोखिम हुने चिकित्सकहरुको भनाइ छ ।
डेंगु रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरूचि बढ्ने, मांसपेशी दुख्ने, पेट गडबडी हुनेजस्ता लक्षण देखिने चिकित्सकहरु बताउँछन ।
घरवरपर सफासुग्घर राख्ने, खाडल तथा भाँडामा पानी जम्न नदिने, झुलभित्र सुत्ने, झ्यालढोकामा जाली लगाउने, शरीर ढाकिने गरी कपडा लगाउनेजस्ता प्राथमिक उपाय अपनाएर डेंगुको संक्रमणबाट बच्न सकिन छ ।
डेंगु सार्ने लामखुट्टेले प्रायः जमेको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने भएकाले कुनै पनि भाँडामा पानी जम्मा हुन नदिने र सामान्य कुराको होसियारी अपनाउन सकेपनि डेंगु रोगको जोखिमबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।