कैलाली । जिल्लामा एचआइभी संक्रमितले लिँदै आएको एआरटी सेवा लिनेको संख्या बढेको छ । यस वर्ष कैलालीमा एआरटी सेवा लिनेको संख्या १ हजार ६ सय ३२ रहेको छ ।
कैलालीमा अघिल्लो वर्षभन्दा यस वर्ष एआरटी सेवा लिने एचआइभी संक्रमितको संख्या बढेको छ । एआरटी सेवा लिनेहरू बर्सेनि बढ्दै गएका बताइएको छ । आर्थिक वर्ष ०७७-७८ मा कैलालीमा तीन ठाउँबाट एआरटी सेवा लिनेको संख्या १ हजार ५ सय ६० रहेको थियो । आव ०७८÷७९ मा यो संख्या बढेर १ हजार ६ सय ३२ पुगेको छ ।
अघिल्लो वर्षको तुलनामा ७२ जना थपिएका हुन् । टीकापुर अस्पतालमा सञ्चालित एआरटी सेन्टरबाट ५ सय ४८ जना एचआइभी संक्रमितले सेवा लिइरहेका छन् । सेवा लिइरहेकामध्ये २५ जना १४ वर्ष मुनिका बालबालिका र अन्य वयस्क नागरिक रहेका छन् । अघिल्लो आव ०७७-७८ को असार मसान्तसम्म ५ सय २७ जनाले टीकापुर अस्पतालबाट एआरटी सेवा लिइरहेका थिए । एक वर्षको अवधिमा २१ जना नयाँ एचआइभी संक्रमितले सेवा सुरु गरेको तथ्यांक छ ।
टीकापुर अस्पतालमा ०६४ सालबाट एआरटी सेवा सुरु भएदेखि अहिलेसम्म ९ सय ३८ जना एचआइभी संक्रमित सम्पर्कमा आएका छन् । उनीहरूमध्ये १ सय ५९ जनाको मृत्यु भएको, १ सय ६४ जना यहाँबाट बाहिर गएका, ६७ जनाले औषधि खान छाडेको र ५ सय ४८ जनाले अहिले पनि सेवा लिइरहेका टीकापुर एआरटी सेन्टरका काउन्सिलर सोफिया विकले जानकारी दिइन् ।
‘कोही बसाइँसराइ गरी गएर पनि छाडेका छन्, बसाइँ सरी गएकालाई गएको ठाउँबाट सेवा लिन भनेका छौँ’, उनले भनिन्, ‘हामीकहाँ नियमित सेवा लिने हुनुहुन्छ, उहाँहरूको सहजताका लागि संक्रमितको अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले पनि सघाइरहनुभएको छ ।’ मालाखेती एआरटी सेन्टरमा ९८ एचआइभी संक्रमितले सेवा लिइरहेका छन् । मालाखेती अस्पतालमा ०७४ बाट एआरटी सेवा सुरु भएदेखि अहिलेसम्म १ सय १४ एचआइभी संक्रमित सम्पर्कमा आएका छन् । उनीहरूमध्ये तीन जनाको मृत्यु भएको, चार सम्पर्क बाहिर रहेका, नौ त्यहाँबाट बाहिर गए भने ९८ जनाले अहिले पनि सेवा लिइरहेका मालाखेती एआरटी सेन्टरका काउन्सिलर राजेन्द्र मल्लले जानकारी दिए ।
अघिल्लो आव ०७७-७८ को असार मसान्तसम्म ९२ जना मात्र सम्पर्कमा रहेकामा एक वर्षको अवधिमा २२ नयाँ संक्रमित सम्पर्कमा आएसँगै अहिले जम्मा सम्पर्कमा आएका संक्रमितको संख्या १ सय १४ पुगेको काउन्सिलर मल्लले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा सञ्चालित एआरटी सेन्टरबाट गएको असार मसान्तसम्म ९ सय ८६ जनाले एआरटी सेवा लिइरहेका छन् । अघिल्लो आवको असार मसान्तसम्म ९ सय ५३ जनाले सेवा लिइरहेका थिए ।
यो तथ्यांक हेर्दा सेती प्रादेशिक अस्पताल धनगढीबाट एआरटी सेवा लिने एचआइभी संक्रमित एक वर्षको अवधिमा ३३ जना थपिएका छन् । सेती प्रादेशिक अस्पतालमा ०६३ बाट एआरटी सेवा सुरु भएदेखि अहिलेसम्म २ हजार २ सय ३७ एचआइभी संक्रमित सम्पर्कमा आएका र अहिले पनि ९ सय ८६ जनाले नियमित औषधि सेवन गरिरहेका अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
कैलालीको टीकापुर अस्पताल, मालाखेती अस्पताल र सेती प्रादेशिक अस्पताल धनगढीमा रहेका एआरटी सेन्टरले एचआइभी संक्रमितको रगत परीक्षण, उनीहरूलाई निःशुल्क औषधि प्रदान, स्वास्थ्य जाँच, मनोपरामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेका छन् । एचआइभी संक्रमितलाई स्वास्थ्य बिमामार्फत सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको स्वास्थ्य संस्था प्रमुख बताउँछन् । यसका साथै केही पालिकाले उनीहरूको पोषणमा सघाउन आर्थिक सहयोगसमेत गर्दै आएका छन् ।
कैलालीको टीकापुर नगरपालिकाले संक्रमितलाई पोषणका लागि हरेक वर्ष वार्षिक पाँच हजार रकम उपलब्ध गराउने गरेको छ । यसका साथै संक्रमितका बालबालिकालाई निःशुल्क शिक्षा, छात्रवृत्ति र प्राविधिक शिक्षा अध्ययनका लागि सघाउने गरेको पालिकाले जनाएको छ ।
संक्रमितको अधिकारका क्षेत्रमा क्रियाशील नवजीवन एकता समाजका अध्यक्ष जगत भण्डारी संक्रमितका बालबालिकालाई घरको जिम्मेवारीको भार बढिरहेकाले उनीहरूलाई सघाउन आवश्यक रहेको बताउँछन् । ‘बालबालिकालाई शिक्षामा प्राथमिकता दिनुका साथै आयआर्जन नभएकाले सहयोग आवश्यक छ’, उनले भने, ‘नियमित औषधि सेवन गर्दा पोषिलो खानेकुरा पनि चाहिन्छ, संक्रमितलाई पोषणको अभाव छ ।’