झापा । झापाको दमकमा स्क्रब टाइफसका संक्रमित भेटिएका छन् । त्यहाँको तीन जनामा यो संक्रमण भेटिएको हो ।
दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालका अनुसार डेंगु र स्क्रब टाइपसका विरामीहरु उपचारका लागि आउन थालेका छन् । एक साताभित्र स्क्रब टाइफस तीन जना विरामी देखिएपछि सबैको अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । स्क्रब टाइफसका बिरामीलाई १०५ डिग्री फरेनहाइटसम्म ज्वरो आउने गर्दछ ।
सास फेर्न गाह्रो हुने, शरीर बाँउडिने, खोकी लाग्ने, बान्ता हुने, पेट दुख्ने पखला लाग्ने, जिउ दुख्ने, जोर्नी र मांशपेशीमा पिडा हुने, गर्दन, नितम्ब र पाखुरामा गाँठो देखिने, रगतमा प्लेटलेट्सको संख्या घटदै जाने, छाती पाखुरा, हात खुट्टामा गुलावी बिमिरा देखिने जस्ता लक्षण देखा पर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । यो रोग देखिन थालेकाले लक्षण देखिएमा समयमै उपचार गराउनुपर्ने चिकित्सक बताउँछन् ।
दमक नगरपालिकाका जनस्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईका अनुसार यो रोगको समयमा उपचार नहुँदा दीर्घकालसम्म सुन्ने क्षमता गुम्ने, रक्तचाप कम हुँदै जाने, मिर्गौलाले काम गर्न छाड्ने, शरीरको प्रतिरक्षात्मक क्षमता कमजोर हुँदा सामान्य जिवाणुले पनि सजिलै संक्रमण गर्ने जस्ता जटिलताहरु देखिन सक्छन् ।
कोरोना संक्रमित भएका विरामीहरुका लागि दमकमा दमक अस्पताल मातहत बेग्लै उपचार केन्द्र रहे पनि अन्य सरुवा रोगहरुको दमक अस्पतालमा नै उपचार हुँदै आएको छ ।
कोरोना र डेंगु रोगसँग लक्षण मिल्दोजिल्दो यो रोग ओरेन्सिया सुसुगामुसि नामको जिवाणुले गर्दा लाग्ने गर्दछ । यस जिवाणुले संक्रमित माइट–सुक्ष्म किरा, सुल्सुले, उपियाँ, जुम्रा लगायतको टोकाइबाट सर्न सक्दछ ।