काठमाडौं । उपचार सेवा करिब ३ दशक बिताइसकेको भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक सामुदायिक अस्पतालले आफ्ना सेवाहरुलाई विशिष्टीकृत गर्दै लगिरहेको छ । जनरल मेडिसिन, गाइनोकोलोजी तथा शल्यक्रिया सेवाबाट सुरु भएको यस अस्पतालले विशेषज्ञ सेवाको थालनी गरेको छ।
अस्पतालले स्पाइनल सर्जरी,रिकन्ट्रक्सन सर्जरी लगायतको सेवा सुरु गरिसकेको छ। त्यस्तै मेडिसिन सेवाअन्तर्गत जनरल फिजिसियनले मात्रै सेवा दिदैं आएकोमा मुटु रोग विशेषज्ञ,पल्मोनोलोजिष्ट,इन्डोक्राइनोलोजी ,काडियोलोजी लगायतको सेवालाई विस्तार गरिएको छ ।अस्पतालले सर्जरी सेवालाई बढी नतिजामुखी बनाउनका लागि ल्याप्रोस्कोपी सर्जरीको सुरुवात गरिसकेको छ ।
भारतको एपोलो अस्पतालसँगको सहकार्यमा अस्पतालले समय समयमा कलेजो प्रत्यारोपणका बिरामीहरुलाई समेत स्वास्थ्य सेवा दिदैं आइरहेको छ । हाडजोर्नी सेवालाई विस्तार गर्ने क्रममा अस्पतालले स्पोर्टस् मेडिसिन तथा आर्थोकोस्पी सेवाको सुरुवात गर्न लागेको अस्पतालका कार्यकारी निर्देशक डा. अशोक कुमार राई बताउँछन् । यसमा जोर्नीको लागेको चोटपटकलाई दुरबिनको सहायतले शल्यक्रिया गरिन्छ।
अस्पताललाई भक्तपुरमा नै ट्रमा सेन्टरको रुपमा लगिएको छ । अर्थोपेडिक, न्यूरो तथा जनरल सर्जरी सेवा अस्पतालले २४ सैं घन्टा दिदैं आइरहेको छ । समुदाय स्तरमा सञ्चालित अस्पताल भएकोले सस्तो मुल्यमा निजी अस्पतालको सरह स्तरीय स्वास्थ्य सेवा दिइरहेको दाबी राईको छ । निम्न आर्थिक अवस्थामा रहेका बिरामीहरुलाई मध्यनजर गर्दै अस्पतालले १० प्रतिशत निशुल्क बेड समेत छुट्याएको छ । मध्यम तथा निम्न वर्ग मानिसहरुलाई लक्षित गरी सञ्चालनमा रहेको यस अस्पतालले सस्तो मुल्यमा स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
भक्तपुर बाहेक सिन्धुपाल्चोक, काभ्रे,सिन्धुली, रामेछाप, दोलखा लगायतका जिल्लाबाट बिरामीहरु उपचारका लागि आउने गर्छन् । उपचार सेवालाई स्तरीय तथा समय सापेक्ष रुपमा परिवर्तन गर्दै अस्पतालले सर्जरी सेवामा विभिन्न प्रकारका नवीन प्रविधिहरु ल्याउने तयारी गरेको छ । विशेषगरी न्यूरो सर्जरी, हाडजोर्नी विभाग तथा यूरो सर्जरीमा अस्पतालले नयाँ उपकरणहरु थप गर्दैछ । ट्रमा सम्बन्धी सेवालाई विस्तार गर्दै अस्पतालले ४ जना विशेषज्ञ चिकित्सकद्वारा हाडजोर्नी सेवा प्रदान गर्दै आइरहेको छ ।
सस्तो मुल्यमा गुणस्तरीय सेवा नै यस अस्पतालको आकर्षणको पक्ष मानिन्छ । अस्पतालले सामुदायिक स्तरमा विभिन्न प्रकारको हेल्थ क्यापहरु गरिरहेको छ । भक्तपुरका विभिन्न स्कुलहरुमा गएर अस्पतालले स्वास्थ्य जनचेतनामुलक विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । महिनावारीको समयमा प्याड प्रयोग तथा पोषणबारे जानकारी दिनका लागि अस्पतालले विभिन्न प्रकारका जनचेतनामुलुक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
वरिष्ठ प्रोफेसर यूरोलोजिष्ट डा. राकेश बर्माद्वारा अस्पतालले यूरोलोजी विभागमा पनि सस्तो र स्तरीय सेवा प्रदान गर्दै आइरहेको डा. राई बताउँछन् । बाबुराम भट्रराई लगायतका व्यक्तिहरुले बेला बेलामा उपचार सेवा लिएको यस अस्पतालले सर्वसाधारणाको विश्वास जित्न सफल भएको छ ।