रसुवा – कोभिड – १९ प्रति पूर्वसावधानीको जागरण ल्याउन बिहीबारदेखि जनचेतना अभियान सुरु गरिएको छ।
सदरमुकामलगायत टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, कालिकास्थानलगायत क्षेत्रमा जनचेतना जगाउने कार्य अगाडि बढेको हो।
बेत्रावतीस्थित फलाखुखोला पुलबाट रसुवा प्रवेश गर्ने यात्रु तथा सवारी चालकलाई स्वास्थ्यको मापदण्ड पूरा गराउन अनुगमनसमेत सुरु गरिएको छ।
आगमन भएका कुनै व्यक्ति शंकास्पद देखिएमा १० दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गराउन स्थानीय निकायलाई आग्रह गरी पूर्वसावधानी अपनाइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए।
तीव्र रूपमा फैलिएको कोरोना संक्रमण रोक्न अनिवार्य मास्क प्रयोग गराउने, साबुनपानीले पटक पटक हात धुने, सामाजिक दूरी कायम गर्नेजस्ता कार्यलाई तदारुकतासाथ कार्यान्वयन गराउन जागरण अभियान थालिएको छ।
शंकास्पद व्यक्तिको स्वाब संकलन गरी परिक्षणका लागि तोकिएको अस्पतालसम्म पु¥याउन स्थानीय तहलाई जिम्मा दिइएको छ।
रसुवागढीस्थित सीमा नाकामा हेल्थ डेस्क स्थापना एवं स्वास्थ्य जाँचकक्ष स्थापना गरी अनावश्यक मानिसको आावतजावत रोक्ने, रसुवा भन्सार कार्यालयले व्यापारी, व्यवसायी, कामदार एवं कर्मचारीलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्णरूपमा पालना गराउन कोभिड नियन्त्रण जिल्ला व्यवस्थापन समितिले आग्रह गरेको छ।
बजारमा हिँड्ने मानिसको चाप घटाउन बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म उपभोग्य वस्तुको पसल खुला गराउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
दोस्रो चरणको कोरोना संक्रमण फैलिएसँगै संक्रमित ५२ मध्ये एकको निधन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
स्थानीय निकायका अस्पताल तथा प्रयोगशालामा आवश्यक कर्मचारी भर्ना गर्न कोभिड नियन्त्रण जिल्ला व्यवस्थापन समितिको निर्णयबाट कार्य निर्देश गरिसकेको बताइएको छ।रासस