काठमाडौं । हामीमध्ये अधिकांश बिहान खाजा (ब्रेकफास्ट) खाँदैनौँ । बिहान उठेको एक घन्टाभित्र केही न केही खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ । यद्यपि, करिब ८० प्रतिशत नेपालीले ब्रेकफास्टका रूपमा बिहान खाजा नखाने गरेको तथ्यांक छ । प्रायः हामी बिहान चिया मात्र खान्छौँ ।
यदि त्योभन्दा बढी खाइहालियो भने बिस्कुट खान्छौँ । त्यो पनि थोरै मात्रामा । यसको सट्टा खाना र दिउँसोको खाजा अलि गहकिलो खाने प्रचलन छ । जुन स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिदैन ।
स्वस्थ रहन ब्रेकफास्ट खान अनिवार्य छ । यसका लागि कम्तीमा पनि २५ सय क्यालोरीयुक्त खानेकुरा लिन आवश्यक हुन्छ । उक्त मात्रामा क्यालोरी यी खाद्यान्नमा पाइन्छ
अन्डा
अन्डा राम्रो क्यालोरीयुक्त पौष्टिक आहार हो । त्यसैले यो ब्रेकफास्टका लागि उपयुक्त छ । दैनिक दुईवटा अन्डा खाँदा दिनभरलाई आवश्यक क्यालोरीको मात्रा उपलब्ध हुन सहयोग पुयाउँछ ।
दूध
ब्रेकफास्टमा एक गिलास दूध खान आवश्यक छ । दूधले पनि शरीरलाई चाहिने क्यलोरी प्रदान गर्छ । बिहानको खानासँगै दूध खाएका अझ फाइदाजनक हुन्छ ।
फलफूल
फलफूल उच्च क्यालोरीयुक्त खाद्यपदार्थ हो । यसर्थ, मौसमी फलफूल बिहानको खाजामा खाए फाइदा गर्छ । तर, अमिलो फलफूल खाँदा एसिडिटी बढ्ने भएकाले ख्याल गर्नुपर्छ । यसर्थ, बिहानै अमिलो फलफूल खाँदा भने आफ्नो स्वास्थ्य अवस्था ख्याल गरौँ ।
स्याउ
स्याउ जुनसुकै उमेर र अवस्थाका मानिसले पनि खान सकिन्छ । एउटा स्याउमा एक सयदेखि दुई सयसम्म क्यालोरी शक्ति पाइन्छ । तसर्थ, बिहान सधैँ एउटा स्याउ खान सके फाइदा पुग्छ । स्याउमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बिरामीलाई फाइदा गर्छ ।
ब्रेड
बिहानको नास्तामा पाउरोटी, डुनोट आदिभन्दा पनि ब्राउन ब्रेड खानु लाभदायी हुन्छ । एउटा सामान्य ब्रेडमा करिब एक सय ५० भन्दा बढी क्यालोरी पाइन्छ ।
कार्बोहाइड्रेटयुक्त खानेकुरा
कार्बोहाइड्रेटयुक्त खाना बिहानै खान सकिन्छ । यसले दिनभर ऊर्जाशील रहन मद्दत गर्छ । यीबाहेक सम्भव भएमा खाना, मासु, तरकारी, सागसब्जी आदि खाँदा स्वास्थ्यमा सकारात्मक भूमिका खेल्छ । ब्रेकफास्टमा करिब २५ सयदेखि तीन हजार क्यालोरी भएका खानेकुरा आवश्यक छ ।