पूर्ण बहादुर खड्का
अछाम । बयालपाटा अस्पतालले पछिल्लो एक आर्थिक वर्षमा ५४ हजार ७ सय ३४ जनाको उपचार गरेको छ।
अस्पतालले गत आर्थिक वर्ष २०७८-०७९ मा अन्तरंग २ हजार २ सय ७०, बहिरंग ४४ हजार ६ सय १६ र आकस्मिक कक्षमा ७ हजार ३ सय ४८ जनाको निशुल्क उपचार गरेको अस्पतालले जनाएको छ ।
विगतका आर्थिक वर्षको तुलनामा यो संख्या कम हो। पछिल्लो समय कोभिडका कारण केही बिरामी संख्या कम भएपनि अहिले अस्पतालमा आउने बिरामीको संख्या बढीरहेको अस्पतालले जनाएको छ।
न्याय हेल्थ नेपालको व्यावस्थापनमा नेपाल सरकारसँग साझदेदारी गर्दै अस्पतालले सुदूर तथा कर्णाली प्रदेशका जनतालाई निशुल्क रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। बयालपाटा अस्पतालमा बिरामी अस्पतालदेखि निको भएर घर र्फकुञ्जेलसम्म कुनै पैसा लाग्दैन। सबै प्रकारका सेवा निशुल्क दिईरहेको अस्पतालले एम्बुलेन्समा भने केही शुल्क लिने गरेको छ।
७ हजार ४ सय २९ जना हार्डजोनीका बिरामीको सफल सल्यक्रिया
बयालपाटा अस्पतालले आर्थिक वर्ष २०७८-०७९ मा ७ हजार ४ सय २९ जना हार्डजोर्नीका बिरामीको सफल सल्यक्रिया समेत गरेको छ। अस्पतालमा कार्यरत मेडिकल तथा शल्यचिकित्सा निर्देशक अर्थोपेडिक सर्जन डा मन्दिप पाठकको नेतृत्वमा ७ सय ८४ जना हार्डजोर्नीका बिरामीको मेजर शल्यक्रिया भएको हो।
अस्पतालले ६ हजार ६ सय ४५ जना हार्डजोर्नी बिरामीका सानो शल्यक्रिया समेत गरेको छ। मेजर र माईनर गरेर अस्पतालले ७ हजार ४ सय २९ जना हार्डजोर्नीका बिरामीको सफल शल्यक्रिया गरेको सर्जन डा मन्दिप पाठकले बताए।
६ सय ७३ जनाले सुत्केरी सेवा लिए
बयालपाटा अस्पातलमा सुत्केरी गराउनेको संख्या समेत बढेको छ। आर्थिक वर्ष २०७८-०७९ मा अस्पतालमा ६ सय ७३ जनाले सुत्केरी सेवा लिएका छन्। जसमा ८४ जनाको शल्यक्रिया मार्फत सुत्केरी सेवा लिए।