काठमाडौं । योजनाविहीन ढंगले नर्स उत्पादन गरिनुले नर्सिङ क्षेत्रमा बेरोजगारीको समस्या दिनप्रति दिन विकराल अवस्थामा देखा परेको छ। आवश्यकता र बजार अध्ययन बिना नै जनशक्ति उत्पादन हुनु तथा जथाभाबी सम्बन्धनले उत्पादित जनशक्ति बेरोजगार रहनुपरेको सरोकारवालाहरु बताउछन्।
एकातिर अस्पतालहरूमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार बिरामीको अनुपातमा नर्स पुगेका छैनन् भने अर्कोतिर तयार भएको जनशक्तिले काम पाएको छैन।
नेपाल नर्सिङ काउन्सिलको पछिल्लो तथ्यांकअनुसार देशभर करिब एक लाख भन्दा माथि नर्सिङ जनशक्ति छन्। तीमध्ये १३ हजार सरकारी सेवामा, करिब १४ हजार निजी क्षेत्रमा र १० हजारहाराहारी विदेशमा छन् । त्यसबाहेक अधिकांश कामविहीन वा न्यून पारिश्रमिकमा काम गरिरहेका छन्।
दर्ता भएका मध्ये केहीको मृत्यु भइसकेको वा केही सेवानिवृत्त भइसकेको भए पनि झन्डै ५० हजार नर्स बेरोजगार रहेको काउन्सिलका अधिकारीहरू स्विकार्छन् । नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष मनकुमारी राईका अनुसार मुलुकभर जम्मा २६ हजारहाराहारीमा नर्स कार्यरत छन्।
निजी अस्पतालमा नर्सलाई दिने पारिश्रमिकमा एकरुपता नपाइएको तथा कतिपय निजी अस्पतालमा नर्सलाई ५ हजार रुपैयांमा समेत काम लगाइएको पाइएको राई बताउँछिन् ।यद्यपि नेपाल सरकारले नर्सको न्यूनतम तोकेको नर्सको न्यूनतम तलब १७ हजार तोकेको छ। त्यसैअनुरुप नर्सहरुलाई तलव सुविधा दिनका लागि नेपाल नर्सिङ एसोसिएसन प्रयासरत्त भएको पनि राई बताउँछिन् । राजधानीका कुनै पनि अस्पतालमा बिरामी –नर्सको अनुपात मिलेको छैन ।
उत्पादनको अनुपातमा खपत हुन नसकेका कारण नर्सिङ बेरोजगारी बढेको हो । ‘सरकारले लागू गर्ने भनेको ‘एक विद्यालय, एक नर्स’ अवधारणा लागू गर्न सकेमा नर्सिङ बेरोजगारी केही हदसम्म हटाउन सकिन्छ,’ राई भन्छिन् ‘नर्सलाई स्वयंसेवकको रूपमा राख्ने परिपाटी करिब करिब अन्त्य भइसकेको भएतापनि थोरै तलबमा राख्ने तथा तलब बढाउन माग गरेमा जागिरबाटै निकालिदिने परिपाटी भने कायम नै रहेको उनी बताउँछिन्।
एकजना नर्सले ६० जनासम्म बिरामीको रेखदेखमा खटिनुपर्ने हालको अवस्थाको एसोसिएसनले निरन्तर संघर्ष गर्ने राईले बताइन्।
नर्सिङ रोजिएको, खोजिएको, रुचाइएको पेसा भएर पनि यस क्षेत्रमा विद्यमान गलत प्रणालीका कारण वर्तमानमा बेरोजगारी समस्या बढेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख गोमा निरौंला बताउँछिन् । ‘नर्सिङको बजार भए पनि त्यसमा सही प्रणाली नभएकाले यस क्षेत्रमा बेरोजगारी समस्या बढ्दै गएको हो,’ निरौंला भन्छिन्, ‘केही गलत प्रणाली हटाउन सकेको खण्डमा नर्सिङ बेरोजगारी हटाउन सकिन्छ।’
चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय माथेमा कार्यदलले अहिलेको अवस्थामा सन् २०३० सम्मलाई पुग्ने नर्सिङ जनशक्ति उत्पादन भइसकेको प्रतिवेदन दिएको थियो । तर, प्रत्येक वर्ष ५ हजारभन्दा बढी नर्स थपिरहेका छन् । यो संख्या अनमी, र बिएससी नर्सिङसमेतको हो।
प्राविधिक शिक्षा तथा त्यसअन्तर्गतको नर्सिङमा वर्तमानमा बेरोजगारी समस्या व्याप्त छ। उत्पादन बढी हुनु, उत्पादिन जनशक्ति गुणस्तरीय नहुनु, योजनाविनै नर्सिङ कलेजलाई सम्बन्धन दिनुलगायत कारणले नर्सिङ क्षेत्रमा बेरोजगारी समस्या दिन प्रतिदिन बढ्दै गएको काउन्सिलकी रजिस्ट्रार घिमिरेको तर्क छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ८ जना बिरामीका लागि एकजना नर्स हुनुपर्छ र आइसियु, पोस्टअपरेभिट वार्डमा १ नर्सले बढीमा २ जना मात्रै बिरामी हेर्नुपर्छ । अहिले धेरै अस्पतालमा १ नर्सले २२ देखि २५ बिरामी हेर्नुपर्छ । थोरै नर्सका भरमा सेवा दिन खोज्दा, बिरामीलाई पर्याप्त केयर नपुग्ने, अनावश्यक रूपमा अस्पतालजन्य संक्रमण बढ्ने, बिरामी र सेवाप्रदायकबीच राम्रो सम्बन्ध र विश्वास कायम हुन नसक्ने अवस्था आउने गरेको छ । यसले स्वास्थ्य सेवाको गुणस्तरमा ठूलो असर परिरहेको छ।
नेपालमा प्रत्येक वर्ष साढे ४ हजारहाराहारीमा नर्स थपिरहेको र १ हजार बाहिरबाट पढेर भित्रिने गरेको काउन्सिलका अधिकारीहरू बताउँछन् । उत्पादित जनशक्तिलाई नेपालमै रोजागारी दिन सरकारले कुनै नीति लिन नसकेको उनीहरूको तर्क छ।