काठमाडौं- हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल) ले कोभिड बिरामीसँग स्वास्थ्य मन्त्रालयले तोके अनुसारकै शुल्क लिएको कुनैपनि बिरामी सँग त्यो भन्दा बढि शुल्क नलिएको बताएको छ ।
कोरोना संक्रमितसँग अस्पतालले बढी शुल्क लिएको आरोप लागेपछि अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ ले सिर्जना गरेको यस भयावह परिस्थितीमा समेत यस अस्पताल तथा स्वस्थ्यकर्मीले रत्तिभर बिचलित नभई गुणस्तरीय सेवा प्रवाह गरिरहेका छन् । आफ्नो दायित्व सम्झेर अठोट भावनाका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा समेत केही समाचार माध्यमहरु तथा सामाजिक संजालमा अस्पतालको. सेवाशुल्कको विषयलाई विभिन्न स्वार्थका लागि नकारात्मक तथा भ्रामक समाचारहरु प्रकाशन गर्नु खेदपूर्ण तथा दुखद छ । उक्त भ्रामक समाचारबाट विचलित नभई यस अस्पतालले नियमित सेवा प्रदान गर्ने तत्थ्य सम्पूर्ण विरामी तथा विरामीका आफन्तहरु एवं आम जनमानसलाई अस्पतालको तर्पmबाट जानकारी उल्लेख गएिको छ ।
यस अस्पतालले मात्र ५ प्रतिशत मृत्युदरमा १६०० भन्दा बढी कोभिड–१९ का विरामीको सफल उपचार गरिसकेको छ । नेपाल सरकारले सम्पूर्ण अस्पतालले कम्तीमा ५० प्रतिशत बेड संख्या कोभिडको उपचारका लागि छुट्याउनु पर्ने आव्हान गरे भन्दा बढी यस अस्पतालले ८० प्रतिशत बेड कोभिडका विरामीको उपचारार्थ छुट्याएर यो चुनौतीपूर्ण महामारीमा सरकार संग हातेमालो गर्दै सर्व साधारणलाई सेवा प्रदान गरेको छ । विरामी भई यस ह्याम्स अस्पतालमा सेवा लिने क्रममा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा नेपाल सरकारले तोकेको अस्पतालमा जान र सो अस्पतालमा निशुल्क उपचार लिन विरामी संग आग्रह गरिन्छ । त्यस पश्चात यदी विरामीबाट यसै अस्पतालमा उपचार गर्ने र अस्पतालले तोकेको शुल्क तिर्ने मन्जुरी दिएको अवस्थामा मात्र यस अस्पतालले सो विरामीलाई स्वास्थ्य मन्त्रालय तथा यस अस्पतालले तय गरेको गाईड लाईनका आधारमा उपचार गरिने व्यहोरा आम जनमानसमा जानकारी गराउदछौ । पारदर्शी ढंगबाट अस्पतालका विभिन्न शैयाको शुल्कबारे विस्तृत रुपमा जानकारी गराईएको विज्ञप्तिमा लेखिएको छ ।
‘अस्पतालले वैज्ञानिक तवरले निर्धारण गरे अनुसारको शय्या शुल्क लिइरहेको जानकारी गराउन चाहान्छौं। विगत १ बर्षदेखि उक्त शुल्कमा सेवा प्रदान गरिआएको छौं। जनरल बेडको हकमा सरकारले तोके बमोजिम नै ७ हजार रुपैयाँ प्रति दिनमा बिरामीलाई सेवा प्रदान गरिरहेको छौं,’ अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘हाल भर्ना भएका सबै विरामी आइसोलेसनको लागि नभएर अक्सिजन सहितको उपचारको लागि भर्ना भएका हुनाले उक्त दर नेपाल सरकारले तोके बमोजिम नै रहेको छ। क्याविनको हकमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बमोजिम थप रकम लिन पाउने व्यवस्था अनुरुप वैज्ञानिक हिसावले दर तोकेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
अस्पतालले आर्थिक हैसियतको हिसाबले बिरामीको उपचारमा कुनै फरक नगर्ने पनि प्रष्ट पारेको छ। ‘जनरल बेड होस वा क्याबिन जुनसुकै बेडमा बसेर उपचार गरे पनि हामीले बिरामीलाई दिने सेवा एउटै हो। आर्थिक हैसियतको हिसावले बिरामीको उपचार फरक ढंगले गर्दैनौं। बिरामीले अतिरिक्त सुविधाका लागि क्याबिनमा बस्दा केहि अतिरिक्त शुल्क तिर्ने मात्र हो।’
सुरक्षित वातावरणमा सेवा दिनु पर्ने हुनाले कोभिड–१९ को प्रकोप पश्चात अस्पतालहरुमा थप चुनौती थपिनुका साथै खर्चमा व्यापक वृद्धि भएको कुरा पनि विज्ञप्तिमा उल्लेख छ।
अस्पतालले कोभिड–१९ को उपचारमा बिरामीबाट अधिक मात्रामा शुल्क असुल गरेको भन्ने कुरा असत्य भ्रामक रहेको पनि विज्ञप्ति मार्फत जानकारी गराएको छ।
यस्तो विषम परिस्थितीमा व्यक्तिगत तथा निजी स्वार्थको लागि अस्पतालको साख गिराउने अभिप्रायका साथ नकारात्मक समाचार सम्प्रेषण भएको प्रति अस्पताल परिवार खेद प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।