कोरोनाभाइरस महामारीबाट बढी प्रभावित जिल्लामध्ये एक पश्चिम नेपालको बाँकेका स्वास्थ्यकर्मीले प्रतिकूल अवस्थाबीच आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताएका छन्।
नेपालमा महामारीको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित बाँकेको नेपालगन्ज मानिएको छ।
करिब ४,००० सक्रिय सङ्क्रमित रहेको बाँकेमा जटिल अवस्थाका पाँच सयभन्दा बढी बिरामी अस्पताल र आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन्।
त्यहाँ वैशाख १ गतेदेखि बिहीवारसम्म ३८ महिला र ४५ पुरुष गरी ८३ जनाको मृत्यु भइसकेको छ।
बाँकेमा कोरोनाभाइरस सङ्क्रमितहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमा पनि सङ्क्रमण देखापरिरहेको अस्पतालहरूले जनाएका छन्।
बिरामीहरूको चापका कारण कैयौँ अस्पतालका स्वास्थ्यकर्मीले तोकिएको समयावधिभन्दा बढी खटेर सेवा दिइरहेको अस्पतालहरूको भनाइ छ।
स्वास्थ्यकर्मीको अनुभव
भेरी अस्पतालको आइसोलेशन वार्डकी नर्सिङ इन्चार्ज शारदा चौधरीलाई एक पटक सङ्क्रमण भइसकेको छ।
उनले अहिले परिवारका दुई सदस्य बिरामी हुँदा समेत अस्पतालमा बिरामीको सेवामा खटिएको बताइन्।
चौधरीले भनिन्, "घरमा छोरी र आमा बिरामी छन्। बिहान उनीहरूको उपचार गर्छु। त्यसपछि अस्पताल आउँछु र एकैचोटि साँझ फर्किन्छु।"
"दिनभरि भोक-प्यास लाग्छ। तर पानी खाने समेत समय हुँदैन। बेलुका घर पुगेर फेरि छोरी र आमाकै हेरचाहमा लाग्नुपर्छ।"
सधैँ आइसोलेशनमा काम गरेर घर फर्किने भएकाले नुहाएर कपडा फेरेर मात्र घरभित्र प्रवेश गर्ने गरेको उनले बताइन्।
उनले थपिन्, "आइसोलेशनमा काम गर्ने धेरै नर्सहरू दोस्रो पटक सङ्क्रमित भइसकेका छन्। मलाई फेरि सङ्क्रमण हुने निश्चित छ। तर पछाडि हट्न भएन।"
सो वार्डमा नर्सहरू दिउँसो ६ घण्टा र राति १३ घण्टासम्म खट्ने गरेको उनी बताउँछिन्।
कामपछिलखतरान
आफूलाई जतिसुकै गाह्रो भए पनि जनशक्ति अभावका कारण काम गर्न सक्दिनँ भन्ने अवस्था नरहेको भेरी अस्पतालकी नर्स पार्वता आचार्य बताउँछिन्।
आचार्यले भनिन्,"आइसोलेशन वार्डको एउटा हलमा ५२ देखि ६० जनासम्म सङ्क्रमित छन्। एक पटकमा पाँचदेखि छजना हुन्छौँ।"
"कहिले अक्सिजन दिने त कहिले औषधि खुवाउनुपर्ने हुन्छ। एकछिन आराम गर्न समय मिल्दैन, जतिसुकै गाह्रो भए पनि कसलाई भन्नु?"
बेलुका ७ बजेदेखि बिहान ८ बजेसम्म रातिको ड्युटी सकेर निस्किँदा आफ्नै शरीर धान्न नसकेर कैयौँ पटक लडेको सोही अस्पतालकी नर्स प्रीति खड्काको अनुभव छ।
खड्का भन्छिन्, "एकछिन आराम गर्न पनि पाइँदैन। खाना खाने समय पनि हुँदैन। त्यसैले होला आईसीयू कक्षमा राति खटिएर बिहान निस्किँदा साह्रै कमजोर महसुस हुन्छ।"
"कयौँ पटक ढलेकी छु। साथीहरूले आराम गर्न दिएपछि फेरि कामलाई निरन्तरता दिँदै आएकी छु।"
भेरी अस्पतालको आइसोलेशनमा २५० भन्दा बढी र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १२७ जनाभन्दा बढी जटिल अवस्थाका सङ्क्रमितले उपचार गराइरहेको ती अस्पतालले जनाएका छन्।
आइसोलेशनमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा आफूहरूलाई एकछिन उभिएर आराम गर्न समेत समय नहुने नर्स मधु गुरुङ बताउँछिन्।
आफू पहिलेदेखि आइसोलेशनमै काम गर्दै आएकोले त्यति गाह्रो नभए पनि नयाँ आएका नर्सहरू कहिलेकाहीँ थाकेर र आत्तिएर बेहोस हुने समस्या देखिएको उनले बताइन्।
"धेरैजना थाकेर कतिपय बिरामीको बेड नजिकैको टेबलमै ढल्नुहुन्छ," गुरुङले भनिन्।
"त्यस्तो अवस्थामा हामी एक अर्कालाई सान्त्वना दिने गर्छौँ र साह्रै गाह्रो भएको अवस्थामा आराम गर्न लगाएर थोरै सङ्ख्या भए पनि मिलेर काम गर्छौँ।"
चौबीस घण्टा पनि कम
भेरी अस्पतालका आठ चिकित्सकसहित करिब १०० जना स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेको बताइएको छ।
त्यसमध्ये केही निको भइसकेका छन् भने केही अझै पनि घरमै एक्लै बसिरहेका छन्। केही अस्पतालमा नै भर्ना भएको बताइएको छ।
भेरी अस्पतालकी नर्सिङ प्रशासन प्रमुख दुर्गालक्ष्मी श्रेष्ठले स्वास्थ्यकर्मी नै सङ्क्रमित हुँदा जनशक्तिको अझ अभाव भएको बताइन्।
अहिले अस्पतालमा सातजना चिकित्सकसहित करिब १०० जना स्वास्थ्यकर्मी आइसोलेशनमा खटिएको उनले बताइन् ।
श्रेष्ठले भनिन्, "१५ वटा भेन्टिलेटरमा १५ जना स्टाफ नर्स अनिवार्य खटिनुपर्नेमा हाल पाँच जनाले मात्र हेरिरहेका छन्।"
भेरी अस्पतालका कोरोनाभाइरस फोकल पर्सन समेत रहेका डा. सङ्केत रिसाल आइसोलेशनमा रहेका प्रत्येक बिरामीको अवस्था बुझ्न आफूलाई २४ घण्टा पनि कम भएको महसुस भइरहेको बताउँछन्।
"दैनिक रूपमा एक पटक अनिवार्य सबै सङ्क्रमितको अवस्था एकएक गरेर बुझ्ने गर्छु। पीपीई लगाएर आइसोलेशन छिरेपछि बाहिर निस्किन करिब पाँचदेखि छ घण्टा लाग्छ।"
सामान्य शर्ट मात्र लगाउँदा पसिनैपसिना हुने नेपालगन्जको गर्मीमा लगातार पीपीई लगाउनु भनेको कठिन हुने डा. रिसालको अनुभव छ।
कतिपय स्वास्थ्यकर्मी अप्ठेरो समयमा काम गर्दा पनि आफूहरूप्रति अनावश्यक आक्रोश व्यक्त गर्दा दुःख लाग्ने गरेको बताउँछन्।
भेरी अस्पतालको आइसोलेशनमा काम गर्दा सङ्क्रमित भएर निको भई पुनः उपचारमा खटिने तयारीमा रहेकी डा. शर्मिला रिमाल भन्छिन्, "अस्पतालका शय्या लुकाएर अभाव देखाएको, बिरामीलाई राम्रो तरिकाले उपचार नगरेको भन्दै बिरामीका आफन्त हामीमाथि नै खनिन्छन्।"
"तर के गर्नु व्यवस्थापनको पाटो फरक हो, हाम्रो जिम्मेवारी भनेको आइसोलेशनमा भर्ना भएका बिरामीको उपचार हो। हामी त्यसमा चुकेका छैनौँ।"
बिबिसी