बालबालिकामा क्यान्सर हुने एकिन कारण अहिलेसम्म पत्ता लागेको छैन । यद्यपि वंशाणुगत तथा वातावरणीय कारणले क्यान्सर हुन्छ भन्न सकिन्छ । बालबालिका र वयस्कमा हुने क्यान्सर भनेको लगभग उस्तै प्रकृतिको हुन्छ। तर बालबालिकामा हुने विशेष क्यान्सर भनेको रक्त क्यान्सर, आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन्।त्यसमध्ये बालबालिकाहरुमा रक्त क्यान्सर बढी मात्रामा हुने गरेको पाइएको छ ।
विराट मेडिकल कलेजमा रक्त क्यान्सरको उपचारमा आउने बालबालिकाहरुको संख्या अन्य क्यान्सर भन्दा बढी छ । त्यस्तै हड्डी, आँखा,तथा मिर्गौलाको क्यान्सर भएका बालबालिकाहरु बढी उपचारमा आउने गरेका छन् । रक्त क्यान्सर भएका बालबालिकाहरुमा यसको लक्षण भने केही समयपछि मात्रै देखिने गर्छ । यस्ता बालबालिकाहरुमा लामो समयसम्म ज्वरो आउने गर्छ । कतिपय अवस्थामा रगत बग्ने, शरीरमा निलो डाम देखापर्छ। बालबालिकाले शरीर दुख्यो भन्छन् तर उनीहरुको हड्डी दुखेको हुनसक्छ। शरीरमा रगतको कमी भएर सेतो, पहेंलो हुने, कमजोर हुने जस्ता लक्षण हुनसक्छन्।
रक्त क्यान्सर भएका बालबालिकाहरुमा लक्षणहरु निकै सुस्त गतिमा देखिने भएकाले यस्तो क्यान्सर भएका बालबालिका उपचारका लागि ढिला आइपुग्छन् । शरीरमा हेमोग्लोबिनको मात्रा एकदमै न्यून भएको अवस्थामा अस्पताल आइपुग्ने गरेको पाइएको छ ।
क्यान्सरको प्रकृति अनुसार त्यसको उपचार खर्च तथा समय लाग्ने गर्छ । रक्त क्यान्सरको उपचारमा भने ६ महिनाको अस्पतालमा मै गरिने उपचारपश्चात् ३ वर्षसम्म उपचार आवश्यक पर्ने गर्छ ।
सरकारको सहुलियतले सहयोग त पुर्याएको छ। तर पर्याप्त छैन। एकलाख रुपैयाँले पुग्दैन। एउटा आर्थिक क्रियाकलापमा सक्रिय आमाबुबा आफ्नो सन्तानलाई क्यान्सर भएपछि अर्को शहरमा बस्नुपर्ने अवस्था छ। यसमा निकै ठूलो आर्थिक विपत्ति आइपर्छ। त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने देखिन्छ। उपचारको मात्र होइन, बस्ने खाने र गुमेको आम्दानीलाई पनि व्यवस्थापन गर्नुपर्छ। सरकारले एकलाख दिन्छ। तर बाल क्यान्सरको उपचारमा अस्पतालमा मात्रै ७ देखी ८ लाख रुपैंया खर्च हुने गर्छ ।
अझै पनि बाल क्यान्सर भएका सम्पूर्ण बाल बालिकाहरु उपचारको पहुँच सम्म आइपुग्न सकेका छैनन् । सन् २०१७ को तथ्यांकअनुसार नेपालमा करिब वार्षिक १५०० बालबालिकामा क्यान्सर हुन्छ।तीमध्ये ५० प्रतिशत बालबालिकाहरु मात्रै उपचारको लागि अस्पताल आइपुगेको तथ्यांक छ ।
बालबालिकामा हुने क्यान्सरको उपचारमा सहज पुहँचका लागि राज्य र सरोकारवाला निकायले सर्वप्रथम उपचारको पहुँचबाहिर रहेका दुर्गम क्षेत्रसम्म क्यान्सरबारेका विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्न आवश्यक छ ।
अझै पनि मानिसहरुमा क्यान्सर ठूला मान्छेहरुमा मात्रै लाग्ने रोग हो भन्ने विश्वास रहेको छ । त्यस्ता मानिसहरुमा जनचेतना बढाउनका लागि स्थानीय,प्रदेश तथा केन्द्र तीनै तहका सरकारको भूमिका महत्वपूर्ण छ । त्यस्तै अस्पतालहरुमा क्यान्सर बिरामीका लागि केही बजेट छुट्याउन सकेको खण्डमा क्यान्सर बिरामीहरुले राहत पाउँछन् ।
(विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलका कन्सलटेन्ट पेडियाट्रीक्स हेमाटोलोजिष्ट तथा अन्कोलोजिष्ट डा. मेहेतासँग महिला स्वास्थ्यकी लक्ष्मी चौलागाईंले गरेको कुराकानी)