हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरभित्र सुविधासम्पन्न प्रसुति अस्पताल स्थापनाको तयारी अगाडि बढाएको छ। गत ३० वैशाखमा भएको स्थानीय तह सदस्य निर्वाचनमा होमिँदा घोषणापत्रमै महिलाहरुको स्वास्थ्य उपचारमा विशेष ध्यान दिँदै प्रसुति अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाएकी मेयर मिनाकुमारी लामाले अस्पताल खोल्ने तयारीलाई तीव्र पारेकी हुन्।
लामाले प्रसुति अस्पताल सञ्चालनको लागि हेटौंडा अस्पतालका पदाधिकारी, चिकित्सकसहित अन्य सरोकारवाला निकायहरुसँग छलफल गरेकी छन्।
प्रसुति अस्पताल उपमहानगरकै खर्चमा सञ्चालन गरिने भएको छ। उपमहानगरले दुई उपायबाट प्रसुति अस्पताल सञ्चालनको तयारी अगाडि बढाएको कार्यालयका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए। उपमहानगरले आफ्नै खर्च र व्यवस्थापनमा अस्पताल सञ्चालनको रोडम्यापबारे अध्ययन गरिरहेको छ । यता, हेटौंडा अस्पतालको व्यवस्थापन र उपमहानगरको खर्चमा पनि अस्पताल सञ्चालनबारे छलफल भइरहेको चौलागाईंले जानकारी दिए ।
हेटौंडा–१०, स्थित टिसिएनको जग्गामा अस्पताल निर्माण गर्ने गरी कार्य अगाडि बढेको उनले बताए। तर, हालसम्म अस्पतालका लागि जग्गा प्राप्ति भने भइसकेको छैन। अस्पतालका लागि १७ नम्बर वडास्थित हटिया क्षेत्रमा जग्गा उपलब्ध हुने भएपनि बजार क्षेत्रबाट टाढा हुने भएकाले मुख्य बजारभित्रै जग्गाको खोजी भइरहेको छ। तत्काललाई प्रसुती अस्पताल हेटौंडा अस्पतालकै पुरानो भवनबाट सञ्चालन गर्न सकिने बारेपनि छलफल भएको जनाइएकाे छ।
हेटौंडा । अस्पताल केही दिनमै नयाँ भवनबाट सेवा प्रदान गर्ने तयारीमा रहेकाले हाल सञ्चालन भइरहेको पुरानो भवनमा प्रसुति अस्पताल सञ्चालनबारे छलफल भएको हो। तर हेटौंडा अस्पतालले प्रसुती अस्पतालका लागि भवन उपलब्ध गराउनेबारे प्रतिबद्धता भने जनाइसकेको छैन। प्रसुती अस्पतालमा ४० बेडको र ५ बेडको एनआईसीयू रहने जनाइएको छ। हेटौंडा अस्पतालको व्यवस्थापनमा सञ्चालन गरे चिकित्सकदेखि कार्यालय सहयोगीसम्म गरेर थप २० देखि ३० जना जनशक्ति आवश्यक पर्ने देखिएको छ।
हेटौंडामा प्रसुतीसम्बन्धी उपचार हुने विशेष अस्पताल प्रमुख आवश्यकताका रुपमा रहेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए। हाल हेटौंडा अस्पतालमा तराईका सर्लाहीदेखि बारा, पर्सा, रौतहटका महिलाहरु गर्भवती अवस्थामा उपचार गराउन आउने गरेका छन्। हेटौंडा अस्पतालले जटिल प्रकारका प्रसुति उपचारका लागि अहिलेपनि चितवन वा काठमाडौंका अस्पतालमा रिफर गर्ने गरेको छ।