काठमाडौं । भनिन्छ रिसले विध्वंस मच्चाउँछ । प्रायः स–सानो कुरालाई लिएर झर्किने वा रिसाउने मानिसको बानी हुन्छ । त्यो झर्किने वा रिसाउने बानीले स्वयमलाई पत्तो नपाई नोक्सान पुर्याउँछ । आफू मात्र पनि होइन, आफन्त र साथीभाइमा पनि त्यसको नकारात्मक असर पुग्छ । जसले व्यक्तिगत सम्बन्धमा पनि हानी पुर्याउँछ ।
रिसले सानो मात्र होइन ठूलो कामलाई पनि धक्का पुर्याउँछ। सानो कुरामा रिस नियन्त्रण गर्न नसक्दा जीवनभरका लागि ठूलो क्षति समेत पुग्न सक्छ । त्यसमा पछुतो बाहेक अरु केही हुँदैन । त्यसैले चिकित्सक भन्छन्, ‘जस्तोसुकै अवस्थामा पनि संयमित बन्नुपर्छ या रिस नियन्त्रण गर्न सक्नुपर्छ ।’
न्युरो साइन्सले हालसम्म पत्ता लगाएको तथ्यअनुसार रिस मस्तिष्कको एउटा निश्चित तन्तुबाट उठ्छ जसको नाम हो, अमागडाला । खासमा अमागडालाको काम सोचविचारै नगरेर शरीरलाई क्रिया अवस्थामा ल्याउनुसँग सम्बन्धित छ । आगोमा हात पर्दा तत्काल झिक्न आदेश दिने काम अमागडालाले नै गर्छ । भुसुनो भन्ने चिन्दा नचिन्दै त्यसलाई पस्न नदिन परेला बन्द पार्ने काम पनि यसैको हो ।
खराब अवस्थामा जीउलाई बचाउने यस्ता कामका लागि अमागडालाले सोच्ने र विचार गर्ने स्नायु तन्तु सेरेबल कोर्टेक्सलाई खबरै नगरेर काम गर्ने गर्छ । त्यसैले त झडङ्ग रिस उठ्छ । रिसकै झोंकमा मान्छेले गर्नु नगर्नु गर्छ । यसको खबर रिस मरेपछि मात्रै निकै ढिलो सेरेबल कर्टेक्सले थाहा पाउँछ । सोचविचार गर्ने क्षमताको कर्टेक्स तन्तुले पत्तो पाउन्जेल रिसले काम तमाम गरिसकेको हुन्छ ।
यस्ता रिसाहा बानीले तपाइँ हाम्रो जीवनमा नकारात्मक असर पारिरहेको हुन्छ । रिसाहा बानीले शारीरिक तथा मानसिक रुपमा नकारात्मक असर पुर्याउँछ । त्यसैले यदि तपाइमा पनि यस्तो बानी छ भने त्यसलाई त्याग्ने उपाय खोज्नुहोस् । रिस किन उठ्छ र त्यसले कस्तो असर पुर्याउँछ भन्ने विषयमा गम्भीर रुपले सोँच्नु आवश्यक हुन्छ ।
किन उठ्छ रिस ?
मानसिक समस्याः रोग, भोक, सोख लगायत कारणले मानिस आफै पिरोलिएका हुन्छन् । त्यस्तो बेला उनीहरुले अरुका सामान्य कुरालाई पनि गहिरो तरिकाले बुझ्छन र अचानक रिसाउँछन् ।
आदतः कतिपय मानिस जन्मजात रिसाहा हुन्छन् । कतिपयको पछि विकसित हुन्छ । बाल्यकालमा धेरै कुटाई खाएका, झैझगडाको वातावरणमा हुर्किएकाहरुमा धेरै रिस उठ्ने बानी हुन्छ । उनीहरुले त्यो बानी नियन्त्रण गर्न खोज्ने प्रयास गरेपनि असफल हुन्छन् । त्यो उनीहरुको कमजोरीको रुपमा रहिरहन्छ ।
प्रतिकुल वातावरणः प्रतिकूल वातावरणका कारण धेरै मानिस झ्वाट् रिसाउने गर्छन् । सोचे जस्तो नहुनु, नदेखिनु वा नभेटिनुले मानिस अकस्मात रिसाउँछन् । त्यसको असर स्वय्मलाई पुग्छ नै आसपासमा रहेकालाई पनि असर पुग्छ ।
रिसलाई कसरी नियन्त्रण गर्ने ?
ध्यानः ध्यानले जीवनमा ठुलो परिवर्तन ल्याउने काम गरेको हुन्छ । तनावमुक्त जीवनका लागि ध्यानले शान्तीपूर्ण वातावारण सिर्जना गर्छ । त्यसैले दिनमा कम्तिमा एक पटक १५ देखि २० मिनेट सम्म भएपनि ध्यान गर्नुपर्छ। मिठो संगीत सँगै शान्त स्थानमा ध्यान गर्नाले मन पनि शान्त हुन्छ। ध्यानले क्षमता अभिवृद्धि आत्मबिश्वास बढाउनुको साथै शरीरलाई स्फुर्ति राख्नुको लागी महत्वपूर्ण भूमिका खेल्छ।
विचार स् कुनै छलफल होस् या साथीभाईसंग कुराकानी गर्दा होस् बोल्नुपुर्वक विचार पुर्याउन सकियो भने त्यहाँ कुनै किसिमको झगडा, कोलाहल हुँदैन र एक अर्कामा खुलेर विचार आदान प्रदान गर्न सकिन्छ । जसले गर्दा रिस हावी हुन पाउदैन।
जब तपाइलाई निकै रिस उठ्छ तब १० अंक देखि १ अंकसम्म उल्टोबाट गन्न थाल्नुहोस् । विस्तारै गन्नुहोस् । यसो गर्दा तपाइँको दिमाग गणनामा केन्द्रित हुन्छ र तपाइँले त्यो विषय भुल्नुहुन्छ जसले तपाइँलाई रिस उठाएको छ ।
तपाइलाई जसका कारण पनि रिस उठेको हुनसक्छ । चाहे घरपरिवारका मान्छे, साथीसङ्गी तथा अन्य व्यक्ति सँग रिस उठेको किन नहोस् । रिस उठेका मान्छेको नजिक नबस्नुहोस् र उठेर कतै टहल्नका लागि हिँडिहाल्नुहोस् ।
लामो स्वास लिनुहोस् । लामो स्वास लिनाले रिस नियन्त्रणमा आउनुका साथै मस्तिष्कमा शान्ति मिल्ने र रिल्याक्स समेत प्राप्त हुन्छ ।
रिस के कारणले गर्दा उत्पन्न भएको हो ? त्यसको कारण खोज्नुभयो भने रिस नियन्त्रणमा तपाइ धेरै हदसम्म सफल हुनुहुनेछ । तर रिसको पारो तातेको बेला यो सम्भव हुँदैन ।
जब रिस कम हुन्छ तब कारण खोज्नतर्फ लाग्नुहोस् । यसका लागि तपाइले आफ्ना साथीभाइ तथा परिवारको समेत सहयोग लिन सक्नुहुन्छ । अनि त्यो कारण निवारण तर्फ लाग्नुहोस् ।