सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना सङ्क्रमणमा वृद्धि हुनथालेको छ । तीन साताअघिसम्म स्थीर रहेको कोरोना सङ्क्रमण दरमा क्रमिक रुपमा बृद्धि भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।
कोराना सङ्क्रमणमा बृद्धि आउन थालेपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रोकथामका प्रयास अघि बढाएको छ । सुदूरपश्चिम प्रदेशमा गत असार ३२ गतेसम्म फाटफुट रुपमा मात्रै सङ्क्रमण देखिने गरेकोमा अहिले दैनिक ५० को हाराहारीमा सङ्क्रमण पुष्टि भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
“साउन लागेदेखि नै कोरोना सङ्क्रमणमा पनि बृद्धि आउन थालेको देखिएको छ” सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख, बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने– खासगरी पछिल्ला १० दिनमा सङ्क्रमण दर ह्वात्तै बढ्न थालेको छ ।
सुदूरपश्चिम प्रदेशमा साउन १ गते तीन जनामा कोरोना सङ्क्रमण देखिएकोमा १८ गते ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ । “साउनको १८ गतेसम्म प्रदेशमा चार सय ५० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ” बरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले भने ।
प्रदेशमा बैशाखमा १६ जनामा मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै, जेठमा १३ र असार महिनामा ५९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । स्वास्थ्य निर्देशनालय, दिपायलका अनुसार बिहीबार एन्टिजेन विधिबाट छ सय १५ जनाको परीक्षण गरिएकोमा ५४ र आरटि पिसिआर विधिबाट गरिएको परीक्षणमा सात जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म ६० हजार एक सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भने हालसम्म छ सय ३३ जनाको सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । प्रदेशमा बैशाखदेखि यता कोरोना सङ्क्रमणबाट मृत्यु दर भने सून्य रहेको छ ।
“भारतका विभिन्न शहरमा कोरोना सङ्क्रमण बढ्दै गएपछि हामीले यहाँ (सुदूरपश्चिम) पनि सतर्कता अपनाउँदै रोकथाम र नियन्त्रणका लागि काम अघि बढाइसकेका छौं” सुदूरपश्चिम प्रदेशका भारतसंग जोडिएका प्रमुख नाकामध्येको एक कैलालीको गौरिफन्टा सिमानाकाको स्थलगत अनुगमनपछि प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले भने– खासगरी भारतका विभिन्न शहरबाट स्वदेश फर्किने नेपालीहरुलाई सिमानाकामा नै परीक्षण र खोप अनिवार्य गर्ने कार्य अझ व्यवस्थित गर्दैछौ ।
सिमानाकाको अनुगमनका क्रममा भारतबाट फर्किएका नेपालीहरुलाई अटोरिक्सा चालकहरुले स्वास्थ्य परीक्षण गर्न नदिइ जबरजस्ती लगेर जानेगरेको आफूले देखेको मन्त्री बोहराले बताए ।
“लाइनबाट जाँदा पिसिआर टेष्ट गर्नु पर्छ, पोजेटिभ देखिए होल्डिङ सेन्टरमा बस्नुपर्छ भनेर यात्रुहरुलाई तर्साएर जबरजस्ती अटोरिक्सामा राखेर लग्ने गरेको पाइयो” मन्त्री बोहराले भने– सिमानाका व्यवस्थित गर्न र भारतबाट फर्किएका नेपालीहरुलाई अनिवार्य रुपमा स्वाब परीक्षणको दायरामा ल्याउन तत्काल ठोस काम गर्छौ ।
सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामिछानेका अनुसार हाल कैलाली र कञ्चनपुरमा एक हजार बेड क्षमताका दुई वटा होल्डिङ सेन्टर रहेका छन् । उनले कोभिड–१९ सङ्क्रमणमा कमी आएपछि करारमा रहेका स्वास्थ्यकर्मी कर्मचारीहरुलाई विदाई गरिएकोमा अब पुनः कर्मचारी व्यवस्थापन आवश्यक भएको बताए ।
सामाजिक विकास मन्त्रालयका अनुसार कोभिड–१९ को सम्भाव्य चौथो लहर रोकथाम तथा नियन्त्रणका लागि खोपको दायरा बढाउने, सिमानाकाका हेल्थडेस्कहरु अझ व्यवस्थित गर्ने, धनगढी विमानस्थलमा हेल्थडेस्क सञ्चालन, कोभिड–१९ प्रतिकार्यका लागि आकस्मिक कोष स्थापना, स्वाब परीक्षणको दायरा बढाउने लगायतका कार्य अघि बढाइएका छन् ।
मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख, बरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तका अनुसार हाल प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रमा आठ हजार सहित प्रदेशभरी १० हजार तीन सय १४ डोज खोप मौज्दात रहेको छ । त्यस्तै, बच्चाहरुका लागि पाँच हजार सात सय ५० डोज फाइजर मौज्दात रहेको छ ।
“हामीले १८ वर्षमाथिको उमेर समुहका लागि थप १० लाख ६३ हजार तीन सय ८६ र १२ देखि १७ वर्ष उमेर समुहका लागि ६० हजार डोजको माग गरेका छौं” पन्तले भने ।